मकवानपुरमको इन्द्रसरोवरमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
इन्द्रसरोवर गाउँपालिका-२ सुकौरास्थित हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल सडक खण्डमा चल्ने गाडी दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो।
मंगलबार दिउँसो २ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०७२० नम्बरको यात्रुबाहक गाडी सडकबाट करिब १ हजार मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार गाडीमा चालक सहित कुल ८ जना सवार थिए।
गाडी दुर्घटनामा परेको खबर पाउनसाथ प्रहरी चौकी खानीखेतबाट प्रहरी सहायक निरीक्षक, इलाका प्रहरी कार्यालय भीमफेदी र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा ट्राफिकसहित २१ जनाको टोली खटिएको थियो।
उद्धारका लागि सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पनि खटिएको थियो।
उद्धार टोलीले घाइते भएका ४ जना (दुई महिला र दुई पुरुष) लाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पठाएको छ। घटनास्थलमै मृत्यु भएका ४ जनाको पहिचान र दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।