सिद्धबाबामा सडक माथिबाट ढुङ्गा खसी कारमा लाग्दा दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मंंगलबार साँझ साढे ६ बजेतिर पाल्पाको तिनाउ गाउँपालिका वडा नंं ३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै सिद्धार्थ राजमार्ग माथिबाट अचानक सडकमा गुडिरहेको कारमाथि ढुङ्गा खसेको थियो।
प्रहरीका अनुसार पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च ३९९९ नम्बरको कारमा ढुङ्गा खस्दा कार पूर्ण रूपमा क्षति भएको छ भने कारमा सवार दुई जना घाइते भएका छन्।
कारमा सवार बुटवल उपमहानगरपालिका वडा नं. ७ दिपनगर क लाइनमा बस्ने ३७ वर्षकी जुलन गैरे र बुटवल जेसिज चोक बस्ने ६२ वर्षकी राधिका ढकाल घाइते भएका छन्।
उनीहरूको बुटवलमा उपचार भइरहेको छ।
कार चालक रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं. २ कोलुवा बस्ने ३६ वर्षीय राज कुमार लोध भने सकुशल रहेको प्रहरीले जनाएको छ।
सडक माथिबाट ढुङ्गा खसेपछि केही समय सडकमा आवतजावत अवरूद्ध भए पनि अहिले ढुङ्गा र कार हटाएर सवारी आवागमन सञ्चालन गरिएको प्रहरीले जनाएको छ।