सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलङ्गवा–नवलपुर सडकखण्डमा मधेस प्रदेश ०३– ०३३ प ७८२४ नम्बरको मोटरसाइकलसँग विपरीत दिशाबाट आउँदै गरेको बिआर ३० एपी १२२४ नम्बरको भारतीय मोटरसाइकल मंगलबार साँझ ठोक्किएको थियो।
दुर्घटनामा ७८२४ नम्बरको मोटरसाइकल चालक सर्लाहीको गोडैता नगरपालिका–६ का ३० वर्षीय सुमित यादव र १२२४ नम्बरका मोटरसाइकल चालक सर्लाहीको कबिलासी–८ का २६ वर्षका पप्पु पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
डिएसपी वेदप्रकाश गौतमका अनुसार दुर्घटनापछि गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा प्रादेशिक अस्पताल मलङ्गवामा मृत्यु भएको हो।
दुर्घटनामा परी दुई जना गम्भीर घाइते छन्।
१२२४ नम्बरको मोटरसाइकलमा सवार सर्लाहीको कबिलासी नगरपालिका–८ का ३३ वर्षीय सुरेन्द्र पासवान र मलङ्गवा नगरपालिका–६ का १८ वर्षीय बब्लुकुमार पासवानको अनुहार, टाउको र खुट्टामा चोट लागेको छ।
दुवैलाई प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि जनकपुर पठाइएको डिएसपी गौतमले जानकारी दिए।
तीव्र गतिका कारण दुवै मोटरसाइकल आपसमा ठोक्किएको हो। प्रहरीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।