संखुवासभामा पछिल्लो चौबीस घन्टामा अति भारी वर्षा मापन भारी वर्षा मापन भएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार संखुवासभाको टासी गाउँ मापन केन्द्रमा पछिल्लो चौबीस घन्टामा २८६.२ मिलिमिटर वर्षा मापन भएको हो।
पछिल्लो चौबीस घन्टामै गण्डकी प्रदेशका विभिन्न स्थानमा धेरै भारी वर्षा र भारी वर्षा मापन भएको छ।
महाशाखाका अनुसार चौबीस घन्टामा तनहुँको थाप्रेकमा १६३.२ मिलिमिटर, स्याङ्जाको डाँडास्वारामा १२७.४ मिलिमिटर, तनहुँको श्यामघामा ८४.८ मिलिमिटर, लमजुङको घारेढुंगामा ९३.२ मिलिमिटर, लमजुङको फलेनीमा ६८ मिलिमिटर, भोर्लेटारमा ७७.२ मिलिमिटर, गिलुङमा ६९.२ मिलिमिटर वर्षा मापन भएको छ।
त्यस्तै पोखराको मालेपाटनमा ७३.४ मिलिमिटर, पोखरा विमानस्थलमा ६२ मिलिमिटर, लामापाटनमा ५६.८ मिलिमिटर, म्याग्दीको बेगामा ५७.८ मिलिमिटर, सिन्धुपाल्चोकको दुवाचौरमा ५८.८, ढुंगेमा ५७.४, दोलखाको सिंगटीमा ६९.६ मिलिमिटर, सोलुखुम्बुको लूक्ला विमानस्थलमा ५२ मिलिमिटर वर्षा मापन भएको छ।
मौसमको शब्दावलीमा १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १०-५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५०-१०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी पर्यो भने अति भारी वर्षा भनिन्छ।
हाल मनसुको प्रभाव कायमै रहेको र न्यूनचापीय रेखा पनि सरदर स्थान आसपास नै छ।
बुधबार दिउँसो पनि कोशी प्रदेशको हिमाली, पहाडी र तराईका साथै बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति विभिन्न भूभागमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।