गलत लिखत तयार पारेको अभियोगबाट वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह सहितलाई सफाइ दिएको छ।
विशेष अदालतका न्यायाधीशहरू बासुदेव आचार्य, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सिंह सहितलाई सफाइ दिएको हो।
सोमबार बसेको उक्त इजलासले सिंहसँगै तत्कालीन पर्साका प्रशासकीय अधिकृत षडकुमार पोखरेल, वीरगन्ज-३ का वडासचिव भिखारी राय, वडा सदस्य तुफैल अख्तर ठकुराई, पुस्कर राना, परशुराम पोखरेल र रिता भट्टराईलाई सफाइ दिएको हो।
मेयर सिंह र रिता भट्टराईले अर्काकी छोरीलाई आफ्नो भनेर गलत लिखत तयार पारी नागरिकता दिलाएको भन्ने आरोप लागेको थियो।
सिंह र भट्टराईले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा र विशेष अदालतमा बयान दिँदा आफूहूले २०५७ सालमा विवाह गरी छोरी जन्मिएको बताएका थिए।
कक्षा ८ मा पढ्दा जन्मदर्ता आवश्यक भएको हुँदा २०७१ कात्तिक २० गते जन्मदर्ता गरेको र २०७५ साउन १३ गते प्रशासन कार्यालय वीरगन्जबाट नागरिकता लिएको बताएका थिए।
यसरी नियमसम्मत नै नागरिकता लिएको बताउँदै कसुर नगरेको बयान उनीहरूको थियो।
ती छोरीको जन्मदर्ता र नागरिकताको विवरण सम्बन्धित वडा कार्यालय र प्रशासन कार्यालयमा नदेखिएको भन्ने आधारले मात्र अभिलेख सुरक्षित राख्ने जिम्मेवारीमा नरहेका सिंहले अभिलेख नष्ट गरेको भन्न नमिल्ने अदालतले आधार प्रस्तुत गरेको छ।
‘...छोरीलाई कानूनसम्मत तरिकाले नै साधिकार निकाय प्रशासन कार्यालय पर्साबाट नेपाली नागरिकताको प्रमाणपत्र दिए दिलाएको कार्यलाई राजेशमान सिंह र रिता भट्टराईको विवाह दर्ता नभएको वा जन्म दर्ताको कागजातमा नागरिकता नम्बर गलत उल्लेख भएको भन्ने प्राविधिक कारणले सो नागरिकताको प्रमाणलाई अन्यथा भन्न मिल्ने अवस्था देखिएन,’ अदालतले भनेको छ।