कपिलवस्तु प्रहरीले भीडभाडमा महिलाका गहना चोरी गरेको आरोपमा आठ जना महिलालाई पक्राउ गरेको छ।
पक्राउ परेका सबै महिला भारतीय नागरिक हुन्।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेश जिल्ला गोरखपुर चौरीचौरा थाना सरदार नगर पोष्ट जोधपुर सुकइकी ३५ वर्षीया रितादेवी चमार, जिल्ला गोरखपुर कम्पियर थाना पोकरी दुसवाकी ३० वर्षीया अनितादेवी हरिजन, जिल्ला सिद्धार्थनगर सौहरतगढ थाना करहियाकी ३५ बर्षीया उषादेबी चमार, जिल्ला गोरखपुर चौरीचौरा थाना सरदार नगर पोष्ट जोधपुर सुकइकी ३२ वर्षीया गीतादेवी चमार, जिल्ला महाराजगंज प्रताबबल पोष्ट समदेउराहा थानाकी २५ वर्षीया उषादेवी हरिजन, जिल्ला सिद्धार्थनगर नुस्काबजारकी २४ वर्षीया सिला हरिजन, जिल्ला सिद्धार्थनगर थाना उस्काबजार लक्क्षमणपुरकी २० वर्षीया काजल हरिजन र जिल्ला महाराजगंज थाना फरेन्दाकी ५० वर्षीया राजमती चमार पक्राउ परेका हुन्।
कपिलवस्तुका प्रहरी प्रवक्ता डिएसपी रिपेन्द्रकुमार सिंहका अनुसार उनीहरूले भीडको फाइदा उठाउँदै स्थानीय महिलाका गरगहना चोरी गरेको पाइएको छ।
उनीहरूको साथबाट चोरीका २४.२२ ग्राम सुन र केही नगद पनि फेला परेको प्रहरीले जनाएको छ।
तीजको दिन कपिलवस्तु नगरपालिका–१ तौलेश्वर मन्दिर भित्र पूजा अर्चाना गर्न गएका भक्तजन महिलाका गरगहना उनीहरुले चोरी गरेको दृष्य सिसिटिभी फुटेजमा देखिएपछि तत्काल उनीहरूलाई पक्राउ गरिएको थियो।
पक्राउ परेका सातै जनामाथि चोरी सम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालतले मंगलबार ७ दिनको म्याद दिएको प्रहरीले जनाएको छ।