आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकासमा सम्भावित जोखिम कम गर्न अनुसन्धानको गति सामूहिक रूपमा सुस्त बनाउनुपर्ने प्रस्तावप्रति एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जेन्सेन हुआङ र मेटाका सिइओ मार्क जुकरबर्गले असहमति जनाएका छन्।
पछिल्ला दिनमा उच्च क्षमताका एआई विकास गरिरहेका कम्पनीहरूले सुरक्षाका नाममा अनुसन्धानको गति समन्वय गरेर घटाउनुपर्ने प्रस्ताव अघि सारेका छन्। तर हुआङ र जुकरबर्गले एआईबाट उत्पन्न हुन सक्ने जोखिम व्यवस्थापनको जिम्मेवारी प्रत्येक कम्पनी आफैंले लिनुपर्ने बताएको भनेर फाइनान्सियल टाइम्सले जनाएको छ।
हुआङले मंगलबार एआई सुरक्षाका लागि अमेरिकामा नयाँ कानुन वा नियम आवश्यक नरहेको बताएका छन्।
सान फ्रान्सिस्कोमा सेल्सफोर्सका सिइओ मार्क बेनिअफसँगको कार्यक्रममा उनले बजारको दबाब र कम्पनीको आफ्नै जिम्मेवारीले जोखिमयुक्त एआई उत्पादन बजारमा आउनबाट रोक्न सक्ने बताए।
‘बजारका शक्तिहरू पहिल्यै छन्। हामीलाई नयाँ कानुन वा नयाँ नियम आवश्यक छैन,’ हुआङले भने।
उनका अनुसार कुनै कम्पनी आफ्नो एआई उत्पादनको क्षमता, कार्यसम्पादन वा सुरक्षाबारे विश्वस्त छैन भने त्यस्तो उत्पादन बजारमा ल्याउनु हुँदैन।
‘नवप्रवर्तनको गति र सुरक्षित उत्पादन विकास गर्न सक्ने क्षमताबीच छनोट गर्नुपर्ने अवस्था छैन,’ हुआङले भने।
उनले कम्पनीहरूले सकेसम्म तीव्र गतिमा एआई विकास गर्न सक्ने तर कुनै चरणमा उत्पादन नियन्त्रण बाहिर जाने वा सुरक्षित नहुने देखिए विकासको गति रोक्दै समस्या समाधान गर्नुपर्ने बताए।
‘जति छिटो दौडन सकिन्छ, दौडनुहोस्। तर कुनै पनि बेला कम्पनी नियन्त्रण बाहिर गएको वा उत्पादन सुरक्षित नहुने महसुस भयो भने रोकिएर त्यसलाई सही बनाउनुहोस्,’ उनले भने।
‘सबैले एकैपटक गति घटाउनुपर्छ भन्ने छैन’
मेटाका सिइओ जुकरबर्गले पनि मंगलबार सामाजिक सञ्जाल एक्समा एआई सुरक्षाको जिम्मेवारी सम्बन्धित कम्पनीकै हुने धारणा सार्वजनिक गरे।
‘प्रत्येक एआई प्रयोगशालासँग आफ्ना मोडल सुरक्षित रूपमा तालिम दिन आवश्यक गतिमा अघि बढ्ने जिम्मेवारी र स्वार्थ छ,’ उनले लेखेका छन्।
जुकरबर्गका अनुसार एआई मोडलका कारण मानिसलाई क्षति पुगेमा कम्पनीहरू कानुनी दायित्वमा पर्न सक्ने भएकाले उनीहरूसँग जोखिम रोक्ने बलियो प्रोत्साहन पनि हुन्छ।
उनले मेटाले आफ्नै ‘म्युज एआई’ एजेन्ट सार्वजनिक गर्न केही महिना ढिला गरेको उदाहरण दिए। तर अरू कम्पनीले पनि त्यही गर्नुपर्ने माग भने मेटाले नगरेको उनले बताए।
‘हामीले सबैले त्यसो नगरेसम्म हामी पनि गर्दैनौं भनेनौं,’ उनले लेखेका छन्।
जुकरबर्गले एआई मोडलको सुरक्षा परीक्षण गर्ने स्वतन्त्र विज्ञ तथा मूल्यांकनकर्ताको संख्या र विविधता बढाउनुपर्ने बताएका छन्। तर त्यस्ता मूल्यांकनकर्तालाई थप पहुँच दिनुपर्ने एन्थ्रोपिकको प्रस्तावबारे उनले आफ्नो धारणा स्पष्ट पारेनन्।
एन्थ्रोपिक, ओपनएआई र मस्कको प्रस्ताव
हुआङ र जुकरबर्गको धारणा एन्थ्रोपिकका सिइओ डारियो अमोडेई, ओपनएआईका सिइओ साम अल्टम्यान र स्पेस एक्सका प्रमुख इलन मस्कले एआई अनुसन्धानको गति समन्वय गरेर सुस्त बनाउनुपर्ने प्रस्ताव सार्वजनिक गरेको केही दिनपछि आएको हो।
यी तीन कम्पनीका प्रमुखहरूबीच सामान्यतया तीव्र प्रतिस्पर्धा रहे पनि एआई विकास अनियन्त्रित रूपमा अघि बढ्दा मानिसले प्रविधिमाथिको नियन्त्रण गुमाउन सक्ने जोखिमबारे उनीहरू एकै ठाउँमा देखिएका थिए।
अनुसन्धानकर्ताहरूको चेतावनी र एआईको सम्भावित जोखिमबारे सार्वजनिक चिन्ता बढिरहेका बेला उनीहरूले उच्च क्षमताका एआईको विकासको गति केही समय समन्वय गरेर नियन्त्रण गर्नुपर्ने धारणा अघि सारेका हुन्।
गुगल र माइक्रोसफ्टले पनि उद्योगबीच यस्तो सहकार्यप्रति समर्थन जनाएका छन्।
तर एनभिडिया र मेटा उक्त प्रस्तावमा सामेल भएका छैनन्।
एआई उद्योगमा ‘ओपन’ र ‘क्लोज्ड’ मोडलको विवाद
यस विषयमा देखिएको मतभेद एआई उद्योगमा रहेको अर्को महत्वपूर्ण विभाजनसँग पनि जोडिएको छ।
ओपनएआई र एन्थ्रोपिकजस्ता कम्पनीले विकास गर्ने ‘क्लोज्ड’ मोडलमा प्रयोगकर्ता तथा बाह्य पक्षको पहुँच सीमित हुन्छ। अर्कोतर्फ, मेटा सहितका कम्पनीहरूले तुलनात्मक रूपमा बढी अनुकूलन गर्न सकिने ‘ओपन’ मोडलको पक्षमा जोड दिँदै आएका छन्।
हुआङले पनि एआईको व्यापक प्रयोगका लागि ओपन मोडलको महत्वमा जोड दिँदै आएका छन्।
ओपन मोडलका केही समर्थकले एआई विकासमा कडा नियम वा नियन्त्रण लागू गर्दा ठूला कम्पनीले विकास गरेका ‘क्लोज्ड’ मोडललाई प्रतिस्पर्धात्मक लाभ पुग्न सक्ने तर्क गर्दै आएका छन्।
एनभिडिया एआई मोडल सञ्चालनका लागि आवश्यक चिपको विश्वकै प्रमुख आपूर्तिकर्ता हो। कम्पनीले ओपनएआई, एन्थ्रोपिक र मस्कको स्पेस एक्समा समेत लगानी गरेको छ।
यसैबीच, एनभिडियाका सिइओ हुआङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग एआई विकास सुस्त पार्ने प्रस्तावको विषयमा समान धारणा राख्दै आएका छन्।
सोमबार एक सार्वजनिक कार्यक्रममा मञ्चमै ट्रम्पसँग फोनमा कुरा गरेका हुआङलाई ट्रम्पले एआईको अस्तित्वगत जोखिमबारे उठाइएका चिन्तालाई झुटो भनेका थिए। उनले अमेरिकी एआई अनुसन्धान र डेटा सेन्टर निर्माणको गति रोक्न खोज्ने प्रयासको पनि आलोचना गरेका थिए।
हुआङले ट्रम्पको भनाइमा समर्थन जनाउँदै जवाफ दिएका थिए, ‘हामी त्यसो हुन दिने छैनौं, सर।’
एआईको विकास कति तीव्र गतिमा अघि बढाउने र त्यससँगै सुरक्षा कसरी सुनिश्चित गर्ने भन्ने विषयमा प्रविधि उद्योगभित्रै मतभेद बढ्दै गएको छ। एक पक्षले तीव्र नवप्रवर्तनसँगै कम्पनीहरूले आफ्नै सुरक्षा संयन्त्र बलियो बनाउनुपर्ने बताइरहेको छ भने अर्को पक्षले अत्याधुनिक एआई अनुसन्धानमा उद्योगव्यापी समन्वय आवश्यक रहेको तर्क गरिरहेको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)