साउदी अरबले इस्लाम धर्मको सबभन्दा ठूलो तीर्थस्थल मक्कातर्फ आएको यमनको हुथी विद्रोहीको ड्रोन खसालेको दाबी गरेको छ।
सो ड्रोन आफ्नो निषेधित हवाई क्षेत्रमा प्रवेश गर्नुअघि नै साउदी अरबको हवाई प्रतिरक्षा प्रणालीले खसालेको साउदी नेतृत्वको यमन सैन्य गठबन्धनले जनाएको भनेर द गार्डियनले लेखेको छ।
गठबन्धनका प्रवक्ता साउदी जनरल तुर्की अल-मलिकीले बुधबार दिएको जानकारीअनुसार मंगलबार साँझ मक्काको दक्षिणतर्फ ड्रोनलाई रोकिएको थियो।
मक्कामाथि ड्रोन हमला गरेको भनेर इस्लामिक सहयोग संगठन (ओआईसी) ले पनि सो घटनाको निन्दा गरेको छ।
५७ मुस्लिम बहुल देश सदस्य रहेको संगठनले घटनालाई इस्लामको पवित्र सहर माथिको ‘घृणित’ आक्रमण भन्दै हुथीहरूलाई जिम्मेवार ठहर गरेको छ। ओआइसीले साउदी अरबविरूद्ध जारी ‘आक्रमण’ को पनि निन्दा गरेको छ।
साउदी जनरल मलिकीले यो घटनालाई हुथीहरूले मक्कालाई लक्षित गरेको दोस्रो प्रयास भएको दाबी गरेका छन्। यसअघि सन् २०१७ को जुलाईमा हुथीहरूले मक्कातर्फ ब्यालिस्टिक मिसाइल प्रहार गरेको साउदी नेतृत्वको गठबन्धनले जनाएको थियो।
तर हुथीहरूले भने मक्कालाई लक्षित गरेको आरोप अस्वीकार गरेका छन्।
हुथीका प्रवक्ता हाजेम अल-असदले बुधबार सामाजिक संजाल एक्समा लेख्दै मक्कालाई लक्षित गरेको दाबीलाई ‘पुरानो झुट’ भनेका छन्।
‘मक्कालाई लक्षित गरेको दाबी पुरानो झुट हो, जुन पहिले पनि प्रयोग गरिएको थियो र अब कसैलाई झुक्याउन सक्दैन,’ उनले लेखेका छन्।
मक्का इस्लाम धर्मावलम्बीहरूको सबैभन्दा पवित्र स्थल हो। हरेक वर्ष हुने हज तीर्थयात्राको मुख्य केन्द्र पनि यही सहर हो।
साउदी गठबन्धनका प्रवक्ता मलिकीले मक्काको सुरक्षा साउदी अरबका लागि कुनै पनि अवस्थामा सम्झौता गर्न नसकिने ‘रेड लाइन’ भएको बताएका छन्।
मध्यपूर्वमा फैलिँदै द्वन्द्व
मक्कातर्फ ड्रोन आएको घटना मध्यपूर्वमा द्वन्द्व फैलिरहेका बेला भएको हो।
इरानसँग निकट सम्बन्ध रहेका यमनका हुथी विद्रोहीहरूले पछिल्लो एक सातामा साउदी अरबतर्फ लगातार आक्रमण गरेका छन्। ती आक्रमणका कारण साउदी अरब पनि क्षेत्रीय युद्धमा थप गहिरिँदै गएको छ।
हुथीहरूले साउदी अरबलाई लक्षित गरेर ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गर्दै आएका छन्। साउदी नेतृत्वको गठबन्धनले यमनमा हुथी विरूद्ध लामो समयदेखि सैन्य कारबाही गर्दै आएको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)