स्वस्थ रहन हिँड्नुपर्छ भन्ने मान्यता हामीले धेरै समयदेखि सुन्दै आएका छौं। अहिलेको आधुनिक समयमा नेपालमै पनि मोबाइल एपको मद्दतले मान्छेहरू हिँडेको पाइला गन्ती गर्ने चलन बढेको छ।
तर स्वास्थ्यलाई फाइदाका लागि न्यूनतममा कति पाइला हिँड्नुपर्छ र कति हिँड्यो भने अधिकतम फाइदा हुन्छ भन्ने अझै पनि वैज्ञानिक रूपमा प्रष्ट भइसकेको छैन।
यसै सन्दर्भमा भर्खरै गरिएको एक अध्ययनले प्रत्येक एक हजार पाइला हिँड्दा मुटु बलियो हुने देखाएको छ।
पाइला संख्या र मुटुको स्वास्थ्य सम्बन्धी बेलायतमा गरिएको एउटा अध्ययनले विशेष गरी उच्च रक्तचाप नियन्त्रण गर्ने निष्कर्ष निकालेको भनेर द वासिङ्टन पोष्टले लेखेको छ।
यो अध्ययनमा उच्च रक्तचाप भएका ३६ हजार एक सय ९२ जना अधवैंशे वा वृद्ध बेलायती पुरूष र महिला सहभागी थिए।
उनीहरूले गतिविधिको निगरानी गर्न ‘एक्टिभिटी ट्र्याकर’ लगाएका थिए। मुटु सम्बन्धी समस्या कसलाई हुन्छ भनेर पत्ता लगाउन वैज्ञानिकहरूले उनीहरूलाई करिब एक दशकसम्म अनुगमन गरे। त्यसपछि बढेको कदम संख्याले रोगको जोखिममा पार्न सक्ने सम्भावित प्रभावहरूको प्रारूप तयार गर्न त्यो डेटाको प्रयोग गरे।
उनीहरूले अनुसन्धानले सानो कदमले ठूलो प्रभाव पार्न सक्ने पत्ता लाग्यो भनेर पोष्टले जनाएको छ।
सो समूहको सबैभन्दा तल्लो औषत हिँडाइ २ हजार ३ सय ४४ पाइला थियो। त्योभन्दा माथि प्रतिदिन थपिएको प्रत्येक एक हजार पाइलाले कुनै पनि ठूलो मुटु सम्बन्धी समस्याको जोखिम करिब १७ प्रतिशतले, हृदयघातको नौ प्रतिशतले, मस्तिष्कघात (स्ट्रोक) को २५ प्रतिशतले र मुटु फेल हुने (हार्ट फेलियर) जोखिम २२ प्रतिशतले घट्यो।
कोही व्यक्ति कति पाइला भन्दा एक हजार बढी हिँड्यो भन्ने कुराले खासै फरक पारेन। दैनिक सामान्य तीन हजार, सात हजार वा नौ हजार जति पाइला हिँड्नेलाई पनि थप इक हजार पाइला हिँड्दा मुटुको जोखिम कम भएको पाइयो। तर १० हजार पाइलापछि भने फाइदा स्थिर रह्यो। सो, अध्ययनको साथमा प्रकाशित एक सम्पादकीयले धेरैले राखेको १० हजार पाइलाको लक्ष्यभन्दा धेरै तल पनि स्वास्थ्य लाभहरू प्राप्त हुन्छन् भनेर जोड दिएको छ।
केही समय अघि भएको अर्को वैज्ञानिक अनुसन्धानले पनि दिनको १० हजार पाइला हिँड्नुपर्छ भन्ने मान्यतामा प्रश्न उठाएको थियो।
अन्तर्राष्ट्रिय मेडिकल जर्नल 'द ल्यान्सेट पब्लिक हेल्थ' मा प्रकाशित सो वैज्ञानिक अनुसन्धानले भन्यो — हिँडाइले स्वास्थ्यलाई दिने फाइदा ७ हजार पाइलासम्म बढ्दै जान्छ, त्यसपछि स्थिर हुन्छ।
त्यसको मतलब, मान्छेले स्वस्थ र तन्दुरूस्त रहन दिनको ७ हजार पाइला हिँडे पुग्छ। यो भनेको १० हजार पाइलाको तुलनामा सजिलै पूरा हुने लक्ष्य हो।
सामान्य गतिमा हिँड्ने मान्छेलाई ७ हजार पाइला पूरा गर्न १ घन्टा १५ मिनेटभन्दा बढी लाग्दैन। हिँड्नकै लागि ४० मिनेट समय छुट्ट्याएर बाँकी घर वा कार्यालयमा यताउता गर्दा पनि लक्ष्य सजिलै पूरा हुन्छ।
त्यतिबेलाको अध्ययको जस्तै पछिल्लो अध्ययनले पनि हिँड्नुको फाइदा रहेको देखाएको हो। तर पछिल्लो अध्ययनले भने थप एक हजार पाइला हिँड्दा मुटुको स्वास्थ्यमा कति फाइदा हुन्छ भन्ने पनि देखाएको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)