एक अर्ब ३४ करोड रूपैयाँभन्दा बढी रकमको हुण्डी कारोबारमा संलग्न व्यक्ति पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले धनुषाका २४ वर्षीय अजयकुमार मुखियालाई पक्राउ गरेको एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए।
मलेसिया लगायत विभिन्न मुलुकबाट अवैध रूपमा हुण्डी कारोबार भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनापछि सिआइबीले अनुसन्धान र विश्लेषण गरेको थियो।
मुखियाको व्यक्तिगत र व्यावसायिक बैंक खाताको प्रयोग गरी एक अर्ब ३४ करोड ७८ लाख ३९ हजार १४४ रूपैयाँको अवैध कारोबार गरेको देखिएको एसएसपी जबराले बताए।
मुखियामाथि अनुसन्धान गर्न जिल्ला अदालत धनुषाबाट पक्राउ अनुमति लिएर धनुषाको शहीदनगरबाट पक्राउ गरिएको थियो।
उनीमाथि प्रहरीले हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाएको छ। यसमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको सिआइबीले जनाएको छ।
सिआइबीले यस्ता आपराधिक घटनाबारे थप सूचना उपलब्ध गराउन अनुरोध पनि गरेको छ। सूचनादाताको गोपनीयता कायम राखिने पनि सिआइबीले जनाएको छ।