भोटेकोशी–त्रिशूली बाढीको २१ दिनपछि चिलिमे जलविद्युत केन्द्रको सुरूङभित्र ५ जनाको शव भेटिएको छ।
सुरूङभित्र फसेकाहरूको उद्धारका लागि विदेशीसहितको संयुक्त टोली खटेको थियो।
खोज तथा उद्धार टोलीले बिहीबार ५ जनाको शव फेला पारी बाहिर निकालेको छ।
चिलिमे जलविद्युत म्पनीका सचिव नारायणप्रसाद आचार्यका अनुसार निकालिएका शव त्रिशूली पुर्याइएको छ। विद्युतगृह (पावरहाउस) भित्र ६ जना रहेको अनुमान गरिएको भए पनि ५ जनाको मात्रै शव भेटिएको हो।
विद्युतगृहमा ५ जना जलविद्युत केन्द्रका कर्मचारी तथा एक जना नेपाल विद्युत प्राधिकरणबाट गेटमा खटिएका कर्मचारी थिए।
मृतकहरूको पहिचान हुन सकेको छैन। विद्युतगृहभित्र थुनिएका अनुमान गरिएका परिवारका सदस्यलाई त्रिशूली बोलाइएकाले बिहीबार मात्रै पहिचान हुन सक्ने आचार्यले जानकारी दिए।
बाढीले पहुँच सडक बगाउनुका साथै जलविद्युत केन्द्रको विद्युतगृहसम्म पुग्ने पहुँच सुरूङमा हिलो, लेदो, ठूला ढुंगा तथा काठका टुक्रा थुपारेको थियो। त्यसैले स्याफ्रुबेसीदेखि पहुँच सडक निर्माण गरी मेसिनरी उपकरण लगेर खोजी गर्दा २१औं दिनमा मात्रै भित्र फसेकाहरूसम्म पुग्न सकिएको आयोजनाले जनाएको छ।
भित्र पसेकाहरूको खोजी तथा उद्धारका लागि गोताखोरसहितको नेपाली सेना, भारतीय सेना लगायतको टोली खटिएको थियो।