दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा खोटाङबाट बेवारिसे अवस्थाका एक सडक मानवको उद्धार गरिएको छ।
मानसिक सन्तुलन गुमाएर लामो समयदेखि खुला सडकमा जीवन बिताउँदै आएका सोल्मास्थित रबुटोलका ५१ वर्षीय ब्यानबहादुर श्रेष्ठको बुधबार उद्धार गरिएको हो।
वडा कार्यालय सोल्माको सिफारिसमा माया घर नेपाल सुनसरीको समन्वयमा उद्धार गरी ‘आफ्नो घर नेपाल’ बिर्तामोड पठाइएको माया घर नेपालका खोटाङ प्रतिनिधि प्रमेश ढकालले जानकारी दिएका छन्।
श्रेष्ठलाई उद्धार गर्न माया घर नेपाल इटहरीका मेची प्रतिनिधि कौशल भण्डारी, नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरूङ, वडाअध्यक्ष ध्रुवविक्रम राईलगायत सोल्मा पुगेका थिए।
सोल्मास्थित सडकबाट उद्धार गरिएका श्रेष्ठलाई सरसफाइ गराएर नयाँ लुगा पनि लगाइदिएको उद्धारकर्मीले बताएका छन्।
शारीरिक रुपमा कमजोर भइसकेका श्रेष्ठलाई बिर्तामोड पठाउन नगरपालिकाले गाडीको व्यवस्था मिलाएको थियो।
बेवारिसे अवस्थामा दिनरात सडकमा डुलिरहने श्रेष्ठका बुबा बेपत्ता भएको र आमाको मृत्यु भइसकेको वडाध्यक्ष राईले जानकारी दिए।
घरपरिवारले उपचार गर्दा ठीक नभएपछि बेवारिसे बनेर डुलिरहने श्रेष्ठलाई उद्धार गरेर आफ्नो घर नेपाल पठाइएसँगै सहज जीवनयापन गर्न पाउने भएका छन्।
माया घर नेपालले यसअघि कोठामा थुनिएर बस्न बाध्य खोटाङका ९ वर्षीय बालकसहित सहाराविहीन चार बालबालिकाको उद्धार गरिसकेको छ।
जिल्लाबाट उद्धार गरेर पठाइएका सबैले सहज रुपमा जीवनयापन तथा अध्ययन गरिरहेको खोटाङ प्रतिनिधि ढकालले जानकारी दिए।