कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ।
भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको नयाँ ट्र्याक बिहीबार बिहानदेखि सञ्चालनमा आएको हो।
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले बिहानैदेखि दुईतर्फी नै सवारी साधन सञ्चालनमा आएको जानकारी दिइन्।
'बिहानैदेखि गाडी गुड्न थालिसकेका छन्। यातायात दुईतर्फी नै सञ्चालनमा छ,' उनले भनिन्।
नयाँ ट्र्याकमा तत्कालका लागि कुनै समस्या नरहेको पनि प्रजिअ पाण्डेयले जानकारी दिइन्।
केही समस्या आयो भने तत्काल समाधानका लागि डेडिकेटेड टिम राखिएको उनले बताइन्।
'बाटो राम्रो छ। अहिलेलाई समस्या छैन। सानो तिनो समस्या केही आयो भने तत्काल मर्मत सम्भारका लागि भनेर प्राविधिक, मेसिन, सुरक्षाकर्मी सहितको डेडिकेटेड टिम राखेका छौं। सानोतिनो समस्या आयो भने तत्काल त्यो टिमले सम्बोधन गर्नेछ,' प्रजिअ पाण्डेयले भनिन्।
यद्यपि पानी पर्ने समय भएकाले यात्रा गर्दा सावधानी अपनाउन भने उनले आग्रह गरेकी छन्।