रसुवाको लाङटाङ जलविद्युत् आयोजनामा कार्यरत शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका अभिषेक डगौराले गत भदौ १० गते बिहान ८:३० बजे आमा सुनितालाई उपचारका लागि चिन्ता नलिनू भनेका थिए।
उनले उपचारका लागि दिल्ली लैजान्छु भनेका थिए।
'एक दुई दिनमा घर आउछु। चिन्ता नलिनू। दिल्ली गएर हजुरको उपचार राम्रोसँग गरौंला,' अभिषेकले आमालाई भनेको अन्तिम कुरा यही हो।
त्यसपछि सुनिता डगौराले छोरासँग कुरा गर्न पाएकी छैनन्। भदौ १० गते आएको विनाशकारी बाढीपछि अभिषेक सम्पर्कविहीन छन्।
'गरिबीले छोरा घरमा कहिल्यै बसेन। मजदुरीका लागि यताउता नै भयो। उसको कमाइले हाम्रो घरको चुल्हो बल्थ्यो। अब त घरमा दिउँसै अँध्यारो भयो,' सुनिताले भनिन्।
सुनिताको मिर्गौलामा समस्या छ। दुवै मिर्गौलामा समस्या देखिएपछि उनी चार महिनादेखि थला परेकी छन्।
भारतको बरेलीमा सुनिताको उपचार गराउँदा झन्डै डेढ लाख रूपैयाँ खर्च भएको उनका श्रीमान बन्दुराम डगौराले बताए।
पैसा नभएकाले बन्दुरामले गत असार यता श्रीमतीलाई अस्पताल समेत लैजान सकेका थिएनन्। छोरा पनि बाढीमा परेर सम्पर्कविहीन भएपछि डगौरा दम्पत्ति आपत आइलागेको छ।
'मिर्गौला पीडित श्रीमतीको उपचारका लागि भएको तीन कट्ठा जग्गा बन्धक राखेर पैसा लिएको थिएँ। छोराले म उपचार खर्च त कमाइहाल्छु बुबा भन्थ्यो,' बन्दुरामले भने, 'उपचार खर्चसहित घरको खर्च चलाउने आशा दिएको छोरो अभिषेक बाढीपछि सम्र्पकविहीन हुँदा परिवारको सहारा गुमेको छ।'
गत जेठमा मात्रै सो आयोजनामा काम गर्न अभिषेक रसुवा पुगेका थिए। त्यसअघि भारतको बैङलोरमा काम गरेको बुबा बन्दुरामको भनाइ छ। 'बुबा चिन्ता नगर्नु आमाको उपचार गरिहालौँला भन्थ्यो,' उनले भने, 'भरोसा दिने छोराको न सास न त लास पाउने अवस्था भयो।'
दुई छोरा र एक छोरीमध्ये २५ वर्षीय अभिषेक बन्दुरामका जेठा छोरा हुन्। 'छोरीको बिहे भइसक्यो। कान्छो छोरा पनि पढ्न नसकेर त्यतिकै छ,' उनले भने, 'जेठो छोरा बाढीले बेपत्ता भएपछि गाउँलेले श्रीमतीको उपचारका लागि ६५ हजार चन्दा संकलन गरेका छन्। केहीले दिएको चामलले भोक मेटाउँदैछौं।'
श्रीमती मिर्गौला पीडित र छोरा बेपत्ता भएको अवस्थामा बन्दुरामले आर्थिक अभावकै कारण उपचारका लागि अस्पताल लैजान सक्ने अवस्था नरहेको बताए।
'एक पटक उपचारका लागि जाँदा १६ हजार भारतीय रुपैयाँ लाग्छ। आफूसित एक हजार ६०० पनि छैन,' उनले भने, 'वडा कार्यालयको सिफारिसपछि चन्दा सङ्कलन गरेर भए पनि उपचारमा लैजान्छु। नत्र बिना पैसा कस्ले उपचार गरिदेला र।' घर बनाउने मिस्त्री काम पनि परिवारमा समस्या पर्दा प्रभावित भइरहेको उनले बताए।
'छोरा खोज्न काठमाडौँसम्म पुगेँ। न सास न त लासकै अवस्था पत्ता लाग्यो,' उनले भने, 'ठेकेदारले छोराको काम गरेको १५ हजार पारिश्रमिक लिएर तीन दिन बसेर भारी मन लिएर घर फर्किए। छोरालाई लिएर फर्किने आशामा निराशा र रोदन मात्रै बाँकी रह्यो।'
बेपत्ता अभिषेककी आमा सुनिताले आफ्नो जीवन बचाउनका लागि गुहार मागेकी छन्। छोराको त अवस्था सरकारले पत्ता लगाउन सकेन। मेरो उपचारमा त केही सहयोग गर्ला र,' उनले भनिन्, 'मेरो अवस्थाकै कारण घर फर्किने तयारी गरिरहेको छोरा बाढीमा बेपत्ता भयो।'
घरको आर्थिक अवस्था कमजोर भएकै कारण आफूले उपचार पाउन नसकेको सुनिताले वेदना सुनाइन्।
'थोरै जग्गा थियो। त्यो पनि बन्धक राखेर भारतको बरेलीमा उपचार गरेको ऋण नै छ,' उनले भनिन्, 'अहिले पनि श्रीमान् उपचारका लागि ऋण खोजिरहनु भएको छ। अब उपचारका लागि ऋण खोज्ने कि सम्र्पकविहीन छोरा खोज्ने।'
बन्दुराम डगौराको परिवारको पीडा कञ्चनपुर निर्वाचन क्षेत्र नं २ का सांसद दीपकराज बोहराले सोमबार प्रतिनिधिसभाको बैठकमा समेत राखेका थिए। उनले आफ्नो निर्वाचन क्षेत्रका मात्रै १४ जना भोटेकोशी बाढीबाट सम्र्पकविहीन रहेको बताएका थिए।
शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद डगौराले सुनिता डगौराको स्वास्थ्य अवस्था समेटिएको पत्र बनाइदिएको बताए।
'छोरा रसुवा बाढीमा परेर सम्र्पकविहीन छन्। आमा दुवै मिर्गौलामा समस्या देखिएर समस्या परेको अवस्था छ। घरमा छाक टार्नलाई अन्न नभएको अवस्था छ,' वडाध्यक्ष डगौराले भने, 'गाउँले जीवन रक्षाका लागि हात अघि बढाएका छन्। सबैको सहयोग भयो भने नेपालमा उपचार गराउने योजना छ। तर पैसा जुटिसकेको छैन।'