इरानमा फेब्रूअरीमा भएका दुई सैन्य हमलामा अमेरिका जिम्मेवार रहेको र ती हमला युद्ध अपराध हुन सक्ने उचित आधार रहेको संयुक्त राष्ट्रसंघीय स्वतन्त्र तथ्य–खोजी मिसनले जनाएको छ।
मिसनले इरानमा सरकार विरोधी प्रदर्शनमाथि भएको दमनबारे पनि अनुसन्धान गर्दै इरानी अधिकारीहरूले मानवता विरूद्धका अपराध गरेको निष्कर्ष पनि निकालेको समाचार संस्था रोयटर्सले जनाएको छ। संयुक्त राष्ट्रसंघको स्वतन्त्र अन्तर्राष्ट्रिय तथ्य–खोजी मिसनको नयाँ प्रतिवेदन जेनेभास्थित मानव अधिकार परिषदमा चाँडै नै पेस गरिँदैछ।
मिसनले फेब्रूअरीमा सुरू भएको इरान युद्धका क्रममा अमेरिकी गतिविधि र गत डिसेम्बरको अन्त्यदेखि सुरू भएको इरानको देशव्यापी सरकार विरोधी आन्दोलनमाथि इरानको दमनको अनुसन्धान गरेको थियो।
अमेरिका र इरानका जेनेभास्थित स्थायी नियोगले प्रतिवेदनबारे तत्काल प्रतिक्रिया नदिएको रोयटर्सले जनाएको छ। अमेरिकी अधिकारीहरूले यसअघि आफ्ना सैन्य कारबाहीहरू युद्ध सम्बन्धी अन्तर्राष्ट्रिय कानुन अनुसार हुने बताउँदै आएका छन्।
विद्यालयमा भएको हमला
संयुक्त राष्ट्रसंघीय अनुसन्धानकर्ताका अनुसार दक्षिणी इरानको मिनाबस्थित शाजारेह तय्येबे प्राथमिक विद्यालयमा भएको हमलामा अमेरिकी सेना जिम्मेवार रहेको मान्न उचित आधार भेटिएको छ।
इरानी अधिकारीहरूका अनुसार उक्त हमलामा १५० भन्दा बढी मानिस मारिएका थिए। मृतकमध्ये करिब १२० जना विद्यालयका बालबालिका थिए।
मिसनले विद्यालय स्पष्ट रूपमा पहिचान गर्न सकिने नागरिक संरचना भएको र त्यसलाई सैन्य प्रयोजनमा प्रयोग गरिएको कुनै प्रमाण नपाएको जनाएको छ।
अनुसन्धानकर्ताका अनुसार अमेरिकी सेनाले त्यहाँ एक वरिष्ठ इरानी सैन्य कमान्डर रहेको भन्ने गोप्य सूचनाका आधारमा हमला गरेको थियो। तर हमला गर्नुअघि उक्त सूचना पर्याप्त रूपमा पुष्टि नगरिएको र लक्ष्य सम्बन्धी पुरानो सूचनालाई अद्यावधिक नगरेको उनीहरूको निष्कर्ष छ।
मिसनले नागरिक संरचनामा ठूलो क्षति हुने जोखिमबारे जानकारी हुँदाहुँदै हमला गरिएको भन्दै त्यसलाई अन्धाधुन्ध हमला मानेको छ। अन्तर्राष्ट्रिय कानुन अनुसार यस्तो हमला युद्ध अपराध हुन सक्ने मिसनको निष्कर्ष छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि इरानको बालिका विद्यालयमा कसैले जानाजान हमला नगरेको बताएका थिए। अमेरिकी सेनाले घटनाबारे आन्तरिक अनुसन्धान पनि गरेको थियो।
खेलकुद केन्द्रमा पनि हमला
मिसनले इरानकै लामेर्दस्थित एउटा खेलकुद केन्द्रमा भएको अर्को हमलाबारे पनि यस्तै निष्कर्ष निकालेको छ।
उक्त हमलामा नजिकैका आवासीय भवन र एउटा विद्यालयमा समेत क्षति पुगेको तथा २२ जना सर्वसाधारण मारिएको वा घाइते भएको प्रतिवेदनमा उल्लेख छ।
अनुसन्धानकर्ताले उक्त हमलालाई पनि नागरिक संरचना माथिको अन्धाधुन्ध हमला भन्दै युद्ध अपराधको श्रेणीमा राखेका छन्। तर अमेरिकी सेन्ट्रल कमान्डले मार्चमा उक्त दिन लामेर्द सहरमा आफ्ना सेनाले कुनै हमला नगरेको दाबी गरेको थियो।
इरानमाथि पनि मानवताविरूद्ध अपराधको आरोप
संयुक्त राष्ट्रसंघीय मिसनले गत डिसेम्बरको अन्त्यदेखि सुरू भएको सरकार विरोधी प्रदर्शनमाथि इरानी अधिकारीहरूले व्यापक र योजनाबद्ध दमन गरेको पनि जनाएको छ।
मिसनका अनुसार गैरकानुनी हत्या, यातना, मनपरी गिरफ्तारी, जबर्जस्ती बेपत्ता पार्ने तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कडा प्रतिबन्ध लगाउने जस्ता गतिविधि भएका थिए।
सरकारी तथ्यांक अनुसार दमनका क्रममा तीन हजार ३८ जनाको मृत्यु र २५ हजार जना घाइते भएका छन्। तर संयुक्त राष्ट्रसंघीय मिसनले वास्तविक मृतक तथा घाइतेको संख्या योभन्दा धेरै हुन सक्ने जनाएको छ। उसले मृतकको संख्या स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको पनि स्पष्ट पारेको छ।
प्रतिवेदनले प्रदर्शन दबाउन हिंसा र हत्या, इन्टरनेट बन्द गर्ने तथा मृत्युदण्डको प्रयोग समेत भएको भन्दै यसलाई इरानमा असहमति दबाउने अघिल्ला अभ्यासभन्दा ठूलो स्तरको दमन भनेको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)