अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई युरोपियन युनियन (इयू) को एसोसिएट सदस्य बनाउने प्रस्ताव अघि बढे युरोपेली उत्पादनमा धेरै उच्च कर लगाउने चेतावनी दिएका छन्।
आफूले अमेरिका विरूद्ध शत्रुतापूर्ण कदम ठान्ने गरी क्यानडा इयुमा गहिरो रूपमा एकीकृत भएमा इयुमाथि गम्भीर व्यापारिक कारबाही गर्न सक्ने ट्रम्पले बुधबार बताएका हुन्।
उत्तर क्यारोलिनाको चार्लोटमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले क्यानडालाई इयुको एसोसिएट सदस्य बनाउने प्रस्तावलाई हास्यास्पद भने।
उनले क्यानडालाई अमेरिकाको खराब व्यापार साझेदार समेत बताए भनेर अमेरिकी अनलाइन पोलिटिकोले जनाएको छ।
‘यदि मलाई यो अलिकति पनि शत्रुतापूर्ण कदमजस्तो लाग्यो भने म धेरै गम्भीर भन्सार महसुल लगाउनेछु वा युरोपसँगका केही क्षेत्रमा व्यापार नै रोक्न सक्छु,’ ट्रम्पले भने।
तर उनले प्रस्ताव असल नियतले गरिएको भए आफूले त्यसलाई स्वीकार गर्न सक्ने संकेत पनि दिए।
‘यदि यसको नियत राम्रो छ भने ठीकै छ। यदि नियत खराब छ भने हामी युरोपमाथि धेरै उच्च भन्सार महसुल लगाउनेछौं,’ ट्रम्पले भने।
इयुकी कार्यकारी प्रमुख तथा युरोपेली आयोगकी अध्यक्ष उर्सला भोन डर लेयेनले बुधबार स्ट्रासबर्गमा युरोपेली संसदमा आफ्नो वार्षिक ‘स्टेट अफ द युनियन’ सम्बोधनका क्रममा क्यानडालाई इयुको पहिलो एसोसिएट सदस्य बनाउन ढोका खोल्ने प्रस्ताव गरेकी हुन्।
उनको सम्बोधनका बेला क्यानडाका प्रधानमन्त्री मार्क कार्नी पनि युरोपेली संसदमा उपस्थित थिए।
भोन डर लेयेनले क्यानडासँग व्यापारभन्दा पर गएर प्रविधि, रक्षा उत्पादन, ऊर्जा, महत्वपूर्ण खनिज, आर्टिफिसियल इन्टेलिजेन्स, क्वान्टम कम्प्युटिङ, साइबर सुरक्षा र आर्कटिक क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रस्ताव गरेकी छन्।
उनले यसलाई भविष्यका लागिको गठबन्धनका रूपमा अघि बढाउने बताएकी छन्। इयु र क्यानडाबीच यसअघि नै व्यापक व्यापार सम्झौता छ। उनका अनुसार नयाँ सम्बन्ध कुनै देशविरूद्ध लक्षित नभई इयु र क्यानडाको साझा शक्ति बढाउने उद्देश्यमा आधारित हुनेछ।
तर एसोसिएट सदस्य भन्ने व्यवस्था इयुको विद्यमान कानुनी संरचनामा अहिले छैन। त्यसैले क्यानडाले यस्तो हैसियत पाएमा उसले इयुको कुन–कुन संरचना र नीतिमा सहभागिता पाउने भन्ने अझै स्पष्ट भइसकेको छैन।
अमेरिका निर्भरता घटाउँदै क्यानडा
अमेरिकासँग व्यापारिक तनाव बढ्दै गएपछि क्यानडाले आफ्नो अर्थतन्त्र र रणनीतिक साझेदारीलाई विविधीकरण गर्न खोजिरहेको छ।
प्रधानमन्त्री कार्नीले यसअघि इयुसँग विशिष्ट गठबन्धन बनाउनुपर्ने बताएका थिए। क्यानडा र अमेरिकाबीचको व्यापार विवादमा दुवै पक्षले एकअर्काका सामानमा विभिन्न कर तथा व्यापारिक प्रतिबन्ध लगाउँदै आएका छन्।
क्यानडाको अमेरिकासँगको व्यापारिक निर्भरता निकै ठूलो छ। त्यसैले इयुसँग आर्थिक, सुरक्षा र प्रविधिगत सम्बन्ध विस्तार गर्ने प्रयासलाई क्यानडाले आफ्नो रणनीतिक विकल्प विस्तार गर्ने प्रयासका रूपमा अघि बढाइरहेको छ।
यसैबीच, ट्रम्पको चेतावनीले क्यानडासँगको व्यापार विवादलाई इयु–अमेरिका सम्बन्धसँग समेत जोडिदिएको छ। क्यानडासँगको सम्बन्ध सुधार्न खोजिरहेको इयुले अब अमेरिकाबाट आउने सम्भावित नयाँ व्यापारिक दबाबलाई पनि सामना गर्नुपर्ने अवस्था देखिएको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)