अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले भरतपुरको आँपटारीबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा २५ वर्षीय भारतीय नागरिक काथराम निथिन छन्। उनलाई प्रहरीले आँपटारस्थित एक घरबाट विभिन्न उपकरणसहित पक्राउ गरेको सिआइबी प्रवक्ता एवं एसएसपी अनुपम शम्शेर जबराले जानकारी दिए।
उनका अनुसार निथिनलाई पक्राउ गर्न प्रहरीले नेपाल टेलिकम र एनसेलको समेत प्राविधिक सहयोग लिएको थियो।
निथिनबाट प्रहरीले २६ वटा मोबाइल, २ वटा ल्यापटप, ७७ वटा एनसेलको सिमकार्ड, १८ वटा एनटिसीको सिमकार्ड, चार वटा सिपियु, एउटा इन्भर्टर, ब्याट्री दुई वटा, युएसबी, नेटवर्क स्वीच लगायत विभिन्न सामान बरामद भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले थप अनुसन्धान अघि बढाएको छ।