एमालेनिकट अनेरास्ववियुका नेता चेतनदीप अयडीको हत्याकाण्डमा करिब चार वर्षपछि फैसला हुने भएको छ।
बाजुरा जिल्ला अदालतमा न्यायाधीश ताराप्रसाद डाँगीको इजलासमा मुद्दाको सुनुवाइ सकिएको छ। बुधबार र बिहीबार लगातार दुई दिन बहस भएको थियो।
जाहेरवाला चेतनका बुवा गगन अयडीका तर्फबाट सरकारी वकिलका साथै वरिष्ठ अधिवक्ता राजेन्द्र साउद, रामबहादुर खड्का, रामबहादुर रावल र वसन्त जोशीले बहस गरेका थिए।
अभियुक्तहरूका तर्फबाट जगत बम लगायतले बहस गरेका थिए।
यस मुद्दामा २४ जना प्रतिवादी छन्। यीमध्ये ७ जना मात्र थुनामा छन्। ११ जना विभिन्न तहका अदालतबाट धरौटी तारिखमा छुटेका छन् भने ६ जना साधारण तारिखमा छन्।
अभियुक्तमध्ये ६ जनालाई मुलुकी अपराध संहिताको दफा ४१ बमोजिम जीवनभर (आजन्म) कैद गर्न र बाँकी १८ जनालाई दफा १७७ बमोजिम जन्मकैद (२५ वर्ष) सजाय गर्न अभियोगपत्रमा माग गरिएको छ।
मुख्य अभियुक्तहरू धनराज थापा, जंग भन्ने शेरबहादुर अयडी, खेमराज अयडी, सागर अयडी, लोकेश अयडी र जीवन अयडीलाई आजन्म कैद सजायको माग अभियोगमा गरिएको थियो। उनीहरू हाल पुर्पक्षका लागि कारागारमै छन्। उनीहरूबाहेक पदम अयडी पनि पुर्पक्षका लागि थुनामा छन्।
२०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका बेला बाजुराको कैलाशमाडौंमा एमालेनिकट अनेरास्ववियुका नेता चेतनदीप अयडीलाई ठूलो समूहले घर घेरा हाली क्रूरतापूर्वक हत्या गरेको थियो।
धनराज थापा यस घटनाका मुख्य आरोपी छन्। उनी घटनास्थलमा प्रत्यक्ष उपस्थित थिए। उनले चेतनदीप अयडीको घरको ढोका फोडेर उनलाई बाहिर निकाल्ने र काठबाट बनेको चिर्पटले प्रहार गर्ने भूमिका खेलेको अभियोग छ।
यी हुन् २४ जना प्रतिवादी
थुनामा रहेका प्रतिवादीहरू
१. धनराज थापा
२. जंग भन्ने शेर बहादुर अयडी
३. खेमराज अयडी
४. सागर अयडी
५. लोकेश अयडी
६. जीवन अयडी
७. पदम अयडी
धरौटी तारिखमा रहेका प्रतिवादीहरू
१. मंगल भन्ने मदन बहादुर अयडी
२. निरज बहादुर अयडी
३. नर बहादुर अयडी
४. उद्धव बहादुर अयडी
५. रतन बहादुर अयडी
६. अनिता रौले अयडी
७. मोहन बहादुर अयडी
८. नवीन बहादुर अयडी
९. ईश्वरी देवी अयडी
१०. धनादेवी अयडी
११. नरेश बहादुर अयडी
साधारण तारिखमा रहेका प्रतिवादीहरू
१. भूपाल अयडी
२.चक्र अयडी
३. रुपा चौधरी अयडी
४. जुद्ध अयडी
५. रनसिंह बहादुर अयडी
६. विनोद अयडी