हदबन्दी कायम भएको जग्गा बिक्री गरी ठगेको आरोपमा एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ठगी आरोपमा काठमाडौं-३ का ७० वर्षीय किरण वैद्यलाई पक्राउ गरेको हो।
एसपी दानबहादुर थापाका अनुसार उनले हदबन्दी कायम भएका भक्तपुर चाँगुनारायण नगरपालिका-२ स्थित कित्ता नम्बर २७ लगायतका ४८ वटा कित्ता जग्गा बिक्री गर्न बैना गरेका थिए।
बिक्री गर्न नमिल्ने जग्गालाई उनले बैना गरी ५ करोड ४० लाख ९६ हजार ९४० रुपैयाँ लिएर ठगेको आरोप छ।
जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति भएर फरार रहेको अवस्थामा वैद्यलाई नक्सालबाट नियन्त्रणमा लिएको हो।