पाल्पा प्रहरीले मादक पदार्थ सेवन गरी सार्वजनिक सवारी साधन चलाएका ५ जना चालकलाई कारबाही गरेको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भदौको अन्तिम साता जिल्लाका विभिन्न स्थानमा गरिएको सवारी चेकजाँचको क्रममा ती चालकहरूलाई कारबाही गरिएको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले सार्वजनिक रूपमा सञ्चालन गरिएका बस, माइक्रो बस, जिप र अटो रिक्सा चालकलाई कारबाही गरिएको जानकारी दिए।
कारबाहीमा परेकाहरूमा तानसेन नगरपालिका वडा नं. ७ बस्ने ३२ वर्षीय मिलन पराजुली, तानसेन नगरपालिका वडा नंं ५ बस्ने ३५ वर्षीय विजय कार्की, गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं. १० बस्ने ४२ वर्षीय लक्ष्मण बस्नेत, पाल्पाको बगनासकाली गाउँपालिका वडा नं. २ बस्ने ४२ वर्षीय जोग बहादुर कनौजे र पाल्पाको माथा गढी गाउँपालिका वडा नं. ४ बस्ने २९ वर्षीय मन बहादुर दिशा रहेका छन्।
मादक पदार्थ सेवन गरी सार्वजनिक सवारी साधन चलाएका पाँचै जना चालकहरूलाई माथि सार्वजनिक हित तथा सुरक्षा विरूद्धको अभद्र व्यवहार मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए।