सशस्त्र प्रहरी बलका नायब निरीक्षक (सई) लक्ष्मणप्रसाद यादवको हत्या आरोपीलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ।
घटना भएको २२ महिनापछि इलाका प्रहरी कार्यालय महेशपुरपतार सिरहाबाट प्रहरी निरीक्षक विशाल मल्लको टोलीले शनिबार साँझ गोली हानेर आरोपीलाई पक्राउ गरेको हो।
बरियारपट्टी गाउँपालिका-१ कचनारीस्थित नेपाल भारतको सीमाबाट भारत विहार मधुवनी थापा ललबनियाँ गाउँका ३७ वर्षीय मोहम्मद कुरवान मंसुरी पक्राउ परेका हुन्।
उनलाई पक्राउ गर्न प्रहरीले हवाइ फायर गरेको थियो। त्यसपछि पनि भाग्न खोजेपछि तीन राउन्ड फायर गरी उनलाई पक्राउ गरेको हो। उनको बायाँ हातको कुहिना र दाहिने खुट्टाको घुँडामा गोली लागेको सिरहाका डिएसपी रमेशबहादुर पालले जानकारी दिए।
मंसुरीको उपचारको लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ।
उनले २०८१ मंसिर १६ गते बिहान ३ बजेतिर बरियारपट्टी-१ कचनारीस्थित नेपाल भारतको सीमामा सफारी गाडीमार्फत मदिरा तस्करी गरिरहेका थिए।
उक्त सूचना पछि सशस्त्र प्रहरी नायब निरीक्षक यादव समेतको टोली परिचालन भएको थियो। उनले मंसुरीको डिएल ५ सिजे ७१७१ नम्बरको गाडी जाँच गर्न खोज्दा गाडीले ठक्कर दिएर हत्या गरेका थिए।
त्यसयता फरार रहेका मंसुरीलाई प्रहरीले पक्राउ गरेको हो।