त्रिपुरेश्वरमा बसमा आगजनी गरी चालक समेत घाइते भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ।
ट्राफिक प्रहरीसँग विवाद भएपछि चालक दावा लामाले बा ५ ख ४२७४ नम्बरको बसमा आगजनी गरेको घटनाको छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले समिति गठन गरेको हो।
कार्यालयका एसएसपी रमेशकुमार बस्नेतको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको हो। यस समितिमा कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंका प्रतिनिधिहरू सहभागी छन्।
समितिले आजैदेखि काम थालेको डिआइजी गोविन्द थपलियाले जानकारी दिए।
सोमबार दिउँसो रिद्धिसिद्धी यातायातको बसका चालकलाई ट्राफिक प्रहरीले रोकेर चिट काट्न खोजेको भन्दै ट्राफिक प्रहरीसँग विवाद भइरहेको भिडिओ बाहिरिएको छ।
भिडिओमा ट्राफिक प्रहरीले गल्ती नहुँदा पनि चिट काट्न खोजेको र ‘जे गर्न सक्छस् गर’ भनेर ट्राफिकले व्यवहार गरेको पनि चालकले भनेको सुनिन्छ।
आवेगमा आएका चालकले त्रिपुरेश्वरको बीच सडकमै गाडी तेर्स्याएका थिए। पछि अनुरोध गरेर उनले बसस्टप छेउमा रोकेका थिए। उनले यात्रुहरूलाई ओरालेर कोही नभएको बेलामा आगो लगाएका थिए। त्यस क्रममा उनी पनि घाइते भएका थिए।
उनलाई उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। त्यहाँ उनको उपचार जारी छ भने अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।