काठमाडौं लगायत बागमती प्रदेशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भएको छ।
काठमाडौंका विभिन्न स्थान सहित ललितपुर, चितवन, मकवानपुरका विभिन्न स्थानमा छिटपुटदेखि मध्यमसम्मको वर्षा भएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो चौबीस घन्टामा चितवनको गोविन्दबस्तीमा २१ मिलमिटर, मादीकल्याणनपुरमा ९.४ मिलिमिटर, हेटौंडाको मकवानपुरगढीमा ५.६ मिलिमिटर वर्षा मापन भएको छ।
महाशाखाले उत्तर अण्डमान क्षेत्रमा विकसित भएको न्युनचापीय प्रणालीको असर बुधबारदेखि नै सुरू हुने भने विशेष बुलेटिन जारी गरिरहेको छ।
यो प्रणाली थप शक्तिशाली बन्दै बलियो न्युनचापीय क्षेत्र बन्ने पश्चिमदेखि उत्तरपश्चिम दिशातिर सर्ने भएकाले यसको प्रभाव नेपालतिर पर्ने पूर्वानुमान महाशाखाले गर्दै आएको छ।
मौसमविद् डेबिट ढकालले पनि यो प्रणालीको असर सुरू भएको भन्न सकिने बताए।
'असर त देखिन थालेको हो। तर अहिल्यै धेरै पानी पर्नेजस्तो देखिँदैन,' उनले सेतोपाटीसँग भने।
यद्यपि यो प्रणाली अहिलेसम्म जमिनको सतहमा आइनसकेको बताए।
'अहिलेसम्म बंगालको खाडीमा अवस्थित देखिन्छ। यो विस्तारै आज राति वा भोलिसम्ममा जमिनको सतहमा प्रवेश गर्ने देखिन्छ। जमिनको सतहमा प्रवेश गरेपछि प्रणाली कति बलियो हुन्छ भन्ने यकिन छैन,' उनले भने।
त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक विनोद पोखरेलले भारतीय मौसम विज्ञान विभागले आधिकारीक रूपमा यसलाई चक्रवात घोषणा गरिनसके पनि आँधी आउनका लागि आवश्यक पर्ने हावाको गति र मापदण्ड पूरा भइसकेको भनेर सामाजिक सञ्जालमा लेखेका छन्।
महाशाखाले बुधबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको जनाएको छ।
त्यस्तै मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागको केही स्थानमा, सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षा हुने पूर्वानुमान छ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् ढकालले जानकारी दिए।
दिउँसो काठमाडौंमा मध्यमसम्मको वर्षा र एकदुई स्थानमा भारी वर्षा पनि हुन सक्ने पनि उनले बताए।
राति पनि कोशी प्रदेशको धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागको केही स्थानमा, सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ।
कोशी प्रदेशको थोरै स्थानमा, बागमती प्रदेशको पहाडी र तराई भु-भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ|
कोशी प्रदेशको पहाडी र तराई भू-भाग एक-दुई स्थानमा राति पनि धेरै भारी वर्षा हुने पूर्वानुमान पनि महाशाखाले गरेको छ।
महाशाखाले यो प्रणालीको निरन्तर अनुगमन गर्दै अद्यावधिक गरिरहेको छ।
भदौ ९ देखि ११ गतेसम्म गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने जनाएको छ।
त्यस्तै मधेस प्रदेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारेखि धेरै भारी र कर्णालीका थोरै स्थानमा भारी वर्षा हुने भनेको छ।
-1790126721.png)
पछिल्लो अद्यावधिकअनुसार महाशाखाले १५ जिल्लामा प्रतिकार्य गर्नुपर्ने भनेको छ। त्यस्तै २९ जिल्लामा सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थाप प्राधिकरणले पनि सूचना जारी गरी सतर्क रहन आग्रह गरेको छ।
प्राधिकरणले यस अवधिमा अत्यन्त जरूरी नभई टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ।
प्राधिकरणले सम्बन्धित संघीय मन्त्रालय तथा निकाय, प्रदेश सरकार, स्थानीय तह, तीनवटै सुरक्षा निकाय र स्वयंसेवक लगायत सरोकारवालाहरूलाई आम सर्वसाधारणलाई सुसूचित गर्न र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ।
जोखिम भएको राजमार्ग र सडकहरूमा डोजर, एक्स्काभेटर, लोडर लगायतका साधन तयारी अवस्थामा राख्न पनि प्राधिकरणले आग्रह गरेको छ।
आकस्मिक बाढी आउनसक्ने खोला, खहरेका नजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान र खोला नदी किनारका बस्तीका बासिन्दाहरूलाई चनाखो रहन पनि प्राधिकरणले आग्रह गरेको छ।