अध्यागमन विभागले ८८ जना विदेशी नागरिकको व्यावसायिक भिसा रद्द गरेको छ।
विभागका प्रवक्ता एवं निर्देशक टीकाराम ढकालका अनुसार एउटा कम्पनीको नाममा व्यावसायिक भिसा लिएर उद्देश्य विपरित कार्य गरेको भन्दै ८८ जनाको भिसा रद्द गरेको हो।
उनीहरूलाई जरिवाना गरी निष्कासनको प्रक्रिया अघि बढाइएको ढकालले बताए।
उनीहरू सिन्धुली मरिण गाउँपालिका-४ साहानस्थित छेन्दु सियान फुड लिमिटेडको आर्थिक साझेदारीमा निर्माणाधीन जियान फुड्स प्रालिमा कार्यरत थिए। तर अर्कै कम्पनीको नाममा भिसा लिएको देखिएको हो।
‘व्यावसायिक भिसा प्राप्त गर्ने विदेशी नागरिकले जुन उद्देश्यका लागि भिसा प्राप्त गरेको हो, सोही उद्देश्यका साथ नेपालमा बस्नुपर्ने व्यवस्था छ। व्यावसायिक भिसालाई रोजगारी, श्रम वा अन्य असम्बन्धित कार्यका लागि प्रयोग गर्न मिल्दैन,’ ढकालले भने।
उनले भिसाको उद्देश्य र शर्तबमोजिमका क्रियाकलापमा संलग्न हुन अनुरोध गरेको छ।