अर्घाखाँचीमा पिपिआर रोगको संक्रमणबाट २८ वटा बाख्राको मृत्यु भएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार डेढ महिनायता जिल्लामा पिपिआर रोगबाट २८ वटा बाख्राको मृत्यु भएको पुष्टि भएको हो।
साउन अन्तिम साता जिल्लाको भूमिका स्थान नगरपालिका वडा नं. ४ को बिष्टबारी र मकै डाँडा, वडा नं. ५ को असुरकोट तथा वडा नं. ८ को नुवाकोट उप्रिकोट क्षेत्रबाट पिपिआरको संक्रमण फैलिन सुरू गरेको थियो।
अहिले भूमिकास्थानका यी वडाहरूसँगै सन्धिखर्कको वडा नं. ८ मा पनि संक्रमण पुष्टि भएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म भूमिकास्थानमा २१ र सन्धिखर्कमा ७ गरी २८ वटा बाख्रा संक्रमणबाट मरेका छन्।
संक्रमण फैलिँदै गएपछि बाख्राहरूलाई पिपिआर रोग विरूद्धको खोप लगाउनुको साथै सङ्क्रमित क्षेत्रका बाख्राको ढुवानी निषेध गरी संक्रमणको नियन्त्रणको प्रयास गरेको थियो। त्यसपछि संक्रमण नियन्त्रण उन्मुख भएको भन्दै बाख्राको बिक्री वितरण र ओसार पसारलाई भने खुला गरेको कार्यालयले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै पछिल्ला केही दिन यता संक्रमण फैलिन बन्द भएकोले बाख्राहरूमा खोप लगाउने कामलाई अभियानको रूपमा अगाडी बढाउँदै बाख्राहरूको चेकजाँच गरी बिक्री वितरण र ओसार पसार खुला गरिएको जनाएको हो।
पिपिआर खोप नलगाएको र संक्रमण युक्त बाख्रा बिक्री वितरण नगर्न कार्यालयले सार्वजनिक सूचना मार्फत अनुरोध गरेको छ।
पिपिआर बाख्रा र भेडामा लाग्ने एक प्रकारको अत्यधिक सङ्क्रामक विषाणुजन्य महामारी रोग हो। गाउँघरमा सामान्य भाषामा भेडा र बाख्रामा लाग्ने हैजाको रूपमा चिनिने गर्छ।
पशु चिकित्सकहरूका अनुसार पिपिआर रोग लाग्दा बाख्राहरूमा उच्च ज्वरो आउने, मुख र जिब्रोमा घाउ हुने, र्याल र सिँगान बग्ने, कडा निमोनिया हुने र गन्हाउने दिसा गर्ने जस्ता लक्षणहरू देखिने गर्छन्। गोठमा कुनै बाख्रामा पिपिआरको संक्रमण देखिएको छ भने त्यहाँका ५० देखि ९० प्रतिशतसम्म बाख्राहरूमा तत्काल संक्रमण फैलिन सक्छ।
गोठमा रहेका कुनै बाख्रामा पिपिआरको संक्रमण देखिएको छ भने अन्य बाख्राहरूमा संक्रमण फैलिन नदिन सङ्क्रमित बाख्रालाई अलग्गै राखेर उपचार गर्न चिकित्सकहरूको सुझाव छ।