सुरक्षित गर्भपतन दिवस
२४ वर्षीया सगरमाथाको (नाम परिवर्तन) विवाह भएको दुई वर्ष भयो।
उनका श्रीमान् र उनी निजी कम्पनीमा काम गर्छन्। उनीहरूले अझै एक–दुई वर्ष सन्तान नजन्माउने योजना बनाएका थिए।
केही समयअघि उनी दुई महिनादेखि महिनावारी भइनन्।
महिनवारी गडबडी भइरहने भएर उनले त्यति वास्ता गरिनन्। यद्यपि उनले कता कता गर्भ बस्यो कि भनेर शंका लागेर परीक्षण गर्ने निधो गरिन्।
उनले नजिकैको मेडिकलमा गएर परीक्षण किट ल्याइन् र जाँचिन्। परीक्षण कीटले पोजेटिभ देखायो, अर्थात् गर्भ बसेको पुष्टि भयो।
सगरमाथा र उनका श्रीमान अहिले सन्तानका लागि तयार थिएनन्। उनले श्रीमानसँग छलफल गरिन्।
'श्रीमानसँग छलफल गरेपछि आर्थिक अवस्था बलियो नभएकाले तत्काल सन्तान नजन्माउने निर्णय भयो,' सगरमाथाले भनिन्, 'सन्तान नजन्माउने भएपछि मेडिकल गएर श्रीमानले गर्भपतनको औषधी ल्याएर दिनुभयो। मैले खाएँ।'
उनले थपिन्– 'त्यसको प्रक्रियाबारे मेडिकलका चिकित्सकले बताएअनुसार नै खाएँ। तीन/चार दिनपछि रगत कम हुँदै जानुपर्छ भन्नुभएको थियो। तर ५/६ दिनसम्म पनि रगत बगिरह्यो।'
उनले मेडिकलमा गएर आफ्ना समस्या बताइन्। त्यसपछि उनलाई थप समस्या भएको हो कि भनेर चेकजाँचका लागि अस्पताल जानुपर्ने जानकारी दिइयो।
श्रीमानको काममा छुट्टी नभएपछि उनी बहिनीलाई लिएर थापाथलीस्थित सुरक्षित गर्भपतन सेवा लिन पुगिन्। त्यहाँ जाँदा आफूलाई अप्ठ्यारो महसुस भएको उनी बताउँछिन्।
'अस्पताल छिर्दा सानै देखेर हो कि के सोचेर हो, सबैजनाले नियालेर हेर्नुभयो,' सगरमाथाले भनिन्, 'उमेरले २४ वर्षकी भए पनि पातली थिएँ। हाइट पनि सानै छ। त्यसैले विवाह भएको भनेर पत्याउँदैनन्। पहिलाको जस्तो सिन्दुर पोते लगाएर पनि हिँडिँदैन।'
सुरुमा उनी टोकन लिन कक्षमा गइन्। त्यहाँ आफ्नो नाम, उमेरदेखि लिएर विवाहित/अविवाहितसम्म सोध्ने रहेछन्। विवाहित भएपछि श्रीमानको नामसमेत भन्नुपर्ने उनको भनाइ छ।
श्रीमान् र बहिनीबाहेक अरू कसैलाई यसबारे जानकारी दिइएको थिएन। त्यसैले गाउँघरका चिनजानका मान्छेहरू देखिन्छन् कि भन्ने डर उनलाई थियो। त्यही कारण उनले सलले आधा अनुहार ढाकेकी थिइन्।
'अनुहार ढाकेर भएर पनि होला, झन् धेरैले चियोचर्चा गरेझैँ लागेको थियो। आफू विवाहित हो भन्ने थाहा हुँदाहुँदै पनि उनीहरूको हेराइले डर लागेको थियो,' उनले भनिन्, 'पालो आउन पनि झन्डै एक–डेढ घन्टा लाग्यो।'
पालो आएपछि चिकित्सकसँग कुराकानी भयो। त्यसपछि भिडियो एक्सरे गर्नुपर्ने कुरा आयो। उनीहरूले भनेअनुसार पुनः पौने घन्टा कुरेपछि भिडियो एक्सरेको पालो आयो।
त्यो रिपोर्ट देखाउन भने सगरमाथाले लामो समय कुर्नु परेन।
'चिकित्सकको सल्लाह र परीक्षणबिना नै औषधी खाएको भनेर सुरुमा गाली गर्नुभयो,' उनले भनिन्, 'गर्भ बसेको देख्नासाथ औषधी खान नहुने रहेछ। न्यूनतम ६/७ हप्ता पुग्नुपर्ने रहेछ।'
सगरमाथालाई यी कुराहरू थाहा थिएनन्। पोजेटिभ देखिनासाथ मेडिकलबाट औषधी ल्याएर खाइन्। बिना चेकजाँच औषधी खानुका साथै मात्रा नमिलाइएका कारण केही टुक्रा बाँकी रहेकाले रगत बगेको उनले थाहा पाइन्।
२१ वर्षीया बागमती (नाम परिवर्तन) प्रेमीसँग अध्ययनका लागि काठमाडौंमा डेरा गरेर बस्थिन्। उनी भर्खर स्नातक अध्ययन गर्दै थिइन् र एउटा कपडा पसलमा काम गर्थिन्।
कम तलब र काठमाडौंको महँगीको भार कम गर्न उनले प्रेमीसँगै बस्ने निधो गरिन्। उनीहरू सँगै बस्न थाले। उनीहरूको सम्बन्धबारे घरपरिवारलाई पनि सुनाइन्। उनको सम्बन्धमा परिवार पनि बाधक बनेनन्।
'दुवैको परिवारको आर्थिक अवस्था उस्तै भएपछि परिवारले पनि सहजै स्वीकार गर्नुभयो। स्नातकको पहिलो वर्षमा अध्ययन गरिरहेका थियौँ। सकेपछि विवाह गर्ने योजना थियो,' बागमतीले भनिन्, 'तर एकपटक दुई महिनासम्म महिनावारी नभएपछि चेक गर्दा गर्भ बसेको थाहा भयो।'
यी कुरा उनले घरपरिवारका कसैलाई भन्ने हिम्मत गर्न सकिनन्। प्रेमीसँग सल्लाह गरेर सुरक्षित गर्भपतन गराउने सोचिन्। तर कुनै अस्पताल जाने हिम्मत दुवैले गरेनन्।
बागमतीका प्रेमीले नजिकै गएर औषधी किनेर ल्याइदिए। उनले युट्युबमा चिकित्सकको भिडियो हेर्दै त्यहीअनुसार औषधी खाइन्। त्यसपछि रगत धेरै बगिरह्यो।
'बेहोस नै हुने हो कि भन्ने डर थियो। तर भइनँ। रगत भने धेरै बग्यो,' उनले भनिन्, 'हप्तादिनसम्म कार्यालय बिदा लिएर बसेँ। त्यतिबेला पनि रगत कम भएन। त्यति गाह्रो हुँदा पनि अस्पताल जान सकिनँ।'
उनले थपिन्– 'म गर्भवती हुने उमेर पुगेको व्यक्ति हुँ। मलाई अस्पतालमा गएर सुरक्षित गर्भपतन गराउनुपर्छ भन्ने पनि थाहा थियो। त्यहीपनि जान सकिनँ।'
अस्पताल गएर आफू अविवाहित गर्भवती भएको थाहा पाएपछि चिकित्सकहरूले नराम्रो नजरले हेर्छन् भन्ने डर लागेको उनी बताउँछिन्। चिनजानका मान्छेले देख्छन् कि भन्ने सोचेर पनि अस्पताल जान नसकेको उनी बताउँछिन्।
उनीहरू मात्र होइन। कम उमेरमा गर्भवती भएका र विवाहित महिलासमेत गर्भपतन गराउन सकेसम्म अस्पताल आउन नपरे हुन्थ्योजस्तो गर्ने गरेको प्रसूति गृहको सुरक्षित गर्भपतन शाखामा लामो समय इन्चार्ज भएर काम गरेकी सगुन थापाको अनुभव छ।
'सहरकै अस्पतालमा समेत युवतीहरू आउन डराउँछन्। त्यसैले मेडिकलबाट औषधी लगेर घरमा खान्छन्। रगत धेरै बगेर बिरामी भएपछि वा थप समस्या देखिएपछि मात्र अस्पताल आउँछन्,' उनले भनिन्, 'सुरक्षित गर्भपतनबारे यतिधेरै जानकारी गराउँदा पनि आउन डराउँछन्।'
उनका अनुसार सुरक्षित गर्भपतन गराउन अस्पताल आइहाले पनि धेरैजसो युवतीहरू आफ्नो परिचय खुलाउन डराउँछन्। सामाजिक लाञ्छना र डरका कारण आधिकारिक स्वास्थ्य संस्थामा जान हिचकिचाउने प्रवृत्ति अझै पनि गहिरो रूपमा व्याप्त छ।
यही डरको फाइदा उठाउँदै गाउँटोलका अनधिकृत मेडिकल हल वा क्लिनिकहरूले महँगो शुल्क लिएर बिनापरामर्श र असुरक्षित तवरले गर्भपतन गराउने औषधी थमाइदिने गरेको उनी बताउँछिन्। यसले महिलाको ज्यानै जोखिममा पार्ने गरेको छ।
नेपालमा सुरक्षित गर्भपतनले कानुनी मान्यता पाएको २४ वर्ष पूरा भइसकेको छ। प्रत्येक असोज १० गते सुरक्षित गर्भपतन सेवा दिवस मनाउने गरिन्छ।
आज १२औँ राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस हो।
तर पनि महिलाहरूका लागि यो सेवा अझै सहज बन्न सकेको छैन। कानुनी रूपमा सुरक्षित, निःशुल्क र अधिकारका रूपमा स्थापित यो सेवा लिन जाँदा समाजले लगाउने ‘लाञ्छना’ र गोपनीयता भंग हुने डरले उनीहरू सरकारी सूचीकृत स्वास्थ्य संस्थाको सट्टा अनधिकृत क्लिनिक वा औषधी पसल धाउन बाध्य भएका छन्।
नेपालको संविधान र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ ले महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी हकलाई पूर्ण रूपमा सुरक्षित गरेको छ।
ऐनको दफा १९ ले प्रजनन स्वास्थ्य सेवा लिँदा वा गर्भपतन गराउँदा प्रयोग हुने कागजात, परामर्श र व्यक्तिगत विवरणलाई पूर्ण रूपमा गोप्य राख्नुपर्ने कानुनी दायित्व स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई दिएको छ। यदि कुनै स्वास्थ्यकर्मी वा संस्थाले बिरामीको अनुमतिबिना यस्ता विवरण बाहिर चुहाएमा कानुनी कारबाही हुने व्यवस्था छ।
तर, यति बलियो कानुनी आधार हुँदाहुँदै पनि यसको प्रभावकारी कार्यान्वयन नहुँदा महिलाहरू ढुक्क भएर सेवा लिन सक्ने वातावरण बन्न सकेको छैन।
चिकित्सकहरूका अनुसार अस्पतालमा आइपुग्ने सेवाग्राहीहरूको समस्यामा शारीरिक जोखिमभन्दा बढी मनोवैज्ञानिक र सामाजिक दबाब हावी हुने गरेको देखिन्छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग र परिवार कल्याण महाशाखाको नेतृत्वमा तथा यस क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाको सहकार्यमा विगत १२ वर्षदेखि यो दिवस देशव्यापी रूपमा मनाउँदै आइरहेको छ।
महिला, कानुन र विकास मञ्चलगायतका संस्थाहरूले सम्मानजनक प्रजनन स्वास्थ्य तथा गर्भपतन अधिकारका पक्षमा वर्षौंदेखि पैरवी गर्दै आएका छन्।
परिवार कल्याण महाशाखाको मातृ तथा नवजात शिशु शाखाका प्रमुख डाक्टर गौरी प्रधानका अनुसार नेपालमा सुरक्षित गर्भपतनले कानुनी मान्यता पाएको दुई दशकभन्दा बढी समय भइसकेको छ। महिलाहरूको अधिकार र स्वास्थ्यलाई मध्यनजर गर्दै सुरक्षित गर्भपतन सेवालाई कानुनी रूप दिइएको हो।
'गर्भपतन गराउन जाँदा कतै पनि विवाहित/अविवाहित भनेर सोधिरहनुहुँदैन,' उनले भनिन्, 'महिलाले आफ्नै श्रीमान्को अनुमति नलिई पनि गर्भपतन गराउन पाउने अधिकार छ। कुनै पनि अस्पतालहरूले त्यो सोधिरहन पाउँदैनन्।'
कानुनी रूपमा सुरक्षित गर्भपतन सेवा लिन आउने व्यक्तिको वैवाहिक स्थिति सोध्नुपर्ने कुनै कानुनी बाध्यता वा मापदण्ड छैन। यो सेवा लिने व्यक्तिको गोपनीय अधिकारअन्तर्गत पर्दछ।
'यदि कुनै स्वास्थ्य संस्था वा अस्पतालमा सोध्छ भने त्यो व्यक्तिगत लापरबाही वा कानुनी जानकारीको अभाव हुन सक्छ,' उनले भनिन्।
कानुनी रूपमा सुरक्षित गर्भपतन गराउने औषधीहरू चिकित्सकको प्रेस्क्रिप्सनबिना बिक्री गर्न पाइँदैन। तर, अझै पनि विभिन्न मेडिकल तथा फार्मेसीहरूले चिकित्सकको प्रेस्क्रिप्सनबिना नै 'ओभर द काउन्टर' रूपमा यस्ता औषधीहरू मनपरी बिक्री गर्ने गरेको पाइएको छ।
यसरी मेडिकलबाट सिधै औषधी सेवन गर्दा अत्यधिक रक्तस्राव हुने, गर्भ पूर्ण रूपमा पतन नभएर (इन्कम्प्लिट) समस्या बल्झिने र अन्ततः गम्भीर अवस्थामा अस्पताल पुग्नुपर्ने बिरामीहरूको संख्या बढ्दो छ। सुरक्षित गर्भपतन सेवालाई अझै प्रभावकारी, सहज र महिलामैत्री बनाउन सकिएको छैन।
गर्भवती महिलाले प्रेग्नेन्सी किटमा पोजेटिभ देखाउनासाथ मेडिकलको औषधी किनेर खान्छन्। त्यसले गर्दा महिलाको स्वास्थ्यमा असर पुग्ने सुरक्षित गर्भपतन सेवामा काम गरेकी डाक्टर सगुन थापाले जानकारी दिइन्।
उनका अनुसार प्रेग्नेन्सी किटमा पोजेटिभ देख्नासाथ बच्चाको एउटा आकार बनिसकेको हुँदैन। कम्तीमा ६ हप्तापछि मात्र बच्चाले एउटा रूप लिएको हुन्छ। त्यसपछि मात्र गर्भपतनको औषधी खानुपर्ने हुन्छ। तर, कतिपय मानिसहरूले पोजेटिभ देखिनासाथ खान्छन्।
'यसरी बच्चा नबसी खाँदा महिलाको प्रजनन स्वास्थ्यमा असर पुग्न सक्छ,' उनले भनिन्, 'कहिलेकाहीँ बच्चा पाठेघरबाहिर पनि बसेको हुन्छ। त्यस्तो अवस्थामा चेक नगरी औषधी खाँदा बच्चा गएर भनेर बस्छन्। तर बच्चा हुर्किरहेको हुनसक्छ।'
उनले थपिन्– 'पाठेघरभन्दा बाहिर बच्चा बस्नु आमाको लागि खतरा हो। त्यसैले गर्भचेक नगरी मेडिकलका औषधी खानु हुँदैन।'
गर्भपतनको औषधी खुलेआम बिक्री हुन्छ। त्यसले गर्दा अविवाहित महिला तथा विवाहित पनि अस्पताल आउँदैनन्। मेडिकलको औषधीले अत्यधिक रगत बगेपछि वा समस्या भएपछि मात्र आउँछन्। उनीहरूलाई गर्भपतनबारे सचेत नभएकाले यसबारे अझै शिक्षित गराउनुपर्ने थापाको भनाइ छ।
गर्भपतन सरकारले तालिम दिएको र स्वास्थ्य संस्थाबाट मान्यता प्राप्त संस्थाबाट मात्र गर्भपतन गराउनुपर्छ भन्ने कुरा बुझाउनु जरुरी छ। सुरक्षित गर्भपतनका दुई प्रक्रिया छन्– सर्जिकल र मेडिकल। यसमा कुनै पनि गर्भवती महिलाको स्वास्थ्य अवस्था र स्वेच्छाअनुसार सुरक्षित गर्भपतन गराउन सकिन्छ।
१८ वर्षभन्दा बढी उमेर समूहका कुनै पनि महिला अस्पताल आएर सुरक्षित गर्भपतन गराउन सक्ने कानुनी व्यवस्था छ। तर, विशेष र जटिल अवस्थाहरूमा जतिसुकै अवधिको गर्भपतन गराउन पाउने नयाँ कानुनी प्रस्ताव अघि बढाइएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रतिनिधि सभामा दर्ता गराएको 'सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५' लाई संशोधन गर्न बनेको विधेयकमा यो व्यवस्था समावेश गरिएको छ।
जसमा गर्भवतीको ज्यानमा खतरा भएमा, भ्रूणमा गम्भीर विकृति देखिएमा र १८ वर्षभन्दा कम उमेरकी बालिका जबरजस्ती करणी वा हाडनाता करणीबाट गर्भवती भएको अवस्थामा जुनसुकै अवस्थामा गर्भपतन गराउन मिल्ने प्रस्ताव अगाडि बढाइएको हो।