धुलिखेल–खावा सडक खण्डमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।
धुलिखेल नगरपालिका-८ जिपलाइनस्थित आइतबार बिहान सडकमा माथिबाट ढुंगा र माटो सहितको पहिरो खसेर सडक अवरूद्ध भएको हो।
पहिरोका कारण सडक दुवैतर्फ पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
प्रहरीका अनुसार सडक अवरुद्ध हुँदा काठमाडौंबाट सिन्धुपाल्चोक, दोलखा तथा तातोपानी नाका हुँदै आवतजावत गर्ने लामो तथा छोटो दूरीका सवारीसाधन र यात्रुहरू बाटोमै रोकिएका छन्।
प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ।
तर, सुख्खा माटो र ढुङ्गाको थुप्रो ठूलो रहेको तथा निरन्तरको असहज अवस्थाका कारण यातायात सञ्चालनमा आउन केही समय लाग्ने प्रहरीको अनुमान छ।
सडक माथिबाट खसेको पहिरोका कारण यातायात सेवा ठप्प भएपछि यस क्षेत्रमा आवतजावत गर्ने यात्रुहरू अलपत्र परेका छन्। यस खण्डमा यात्रा गर्ने यात्रु तथा चालकहरूलाई उच्च सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।