पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रहरीले पक्राउ गरिएको घटनामा नेपाल बार एशोसिएसनले विरोध जनाएको छ।
बारका प्रवक्ता एवं महासचिव वरिष्ठ अधिवक्ता केदार कोइरालाले जबराको गिरफ्तारी स्वेच्छाचारी भएको बताएका हुन्।
प्रहरीले जबरालाई सुरक्षा थ्रेट भएकाले महाराजगन्जस्थित निवासबाट नियन्त्रणमा लिएको हो। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।
‘सुरक्षा थ्रेटका नाममा गरिएको गिरफ्तारी स्वेच्छाचारी हो। यो संविधान र कानुनको शासनको विपरीत छ। नेपाल बार पनि यस्ता स्वेच्छाचारी गिरफ्तारीको विरोध गर्दछ,’ कोइरालाले भने।
उनले यो घटनाले अप्रत्यक्ष रूपमा न्यायपालिकामाथि दबाब दिन खोजेको बताए।
‘पर्याप्त प्रमाण र अभियोगबिना र अदालतबाट पक्राउ पुर्जी जारी नगरी सुरक्षा थ्रेटका नाममा गरिएको स्वेच्छाचारी गिरफ्तारीले न्यायपूर्ण समाजको स्थापना हुन सक्दैन। अप्रत्यक्ष रूपमा यो न्यायपालिकामाथि कार्यकारीको दबाब र थ्रेट हो भन्ने हिसाबले हामीले बुझेका छौं,’ उनले भने।