पर्वतका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गंगाबहादुर क्षेत्रीले कालीगण्डकी नदीमा उर्लिएको बाढीले ६६ घर बगाएको बताएका छन्।
उनका अनुसार थप २२ वटा घर बस्न नमिल्ने गरी क्षति गरेको छ भने अन्य घरहरू पनि जोखिममा छन्।
जलजला गाउँपालिका–८ फर्सेबजारमा रहेका घरहरूलाई कालीगण्डकी नदीले बगाएको हो। सिडिओ क्षेत्रीका अनुसार स्थानीय बासिन्दालाई आइतबार बिहानैदेखि सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति भने भएको छैन। जोखिममा रहेका घरका सामान सुरक्षित स्थानमा सारिएको उनले बताए।
‘फर्सेबजारमा मात्रै ६६ वटा घर कालीगण्डकी नदीले बगायो। २२ वटा घर बस्नै नमिल्ने गरी क्षति पुर्याएको छ,’ उनले भने, ‘जोखिममा रहेका घरहरूको सामान सारिएको छ। स्थानीय बासिन्दालाई बिहानैदेखि सुरक्षित स्थानमा सारिएको छ।’
बाढीपीडितलाई राख्नका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट त्रिपाललगायत सामग्री मगाएको उनले बताए। केही बाढीपीडित आफन्तको घरतर्फ गएको र अधिकांशलाई त्रिपाल र टेन्टमा राख्ने गरी तयारी गरिएको उनले बताए।
तीन दिनदेखि लगातार परेको पानीका कारण कालीगण्डकी नदी आइतबार बिहान उर्लिएको थियो। नदीले फर्सेबजारका घरहरू बगाउनुका साथै पोखरेबगरमा मोटरेबल पुल, सडकलगायतमा पनि क्षति पुर्याएको छ।
सडक र पुल बगाउँदा पर्वतबाट बागलुङ जोड्ने सडक अवरुद्ध छ। सोही बाटो भएर मुस्ताङ जाने बाटो पनि अवरुद्ध भएको सिडिओ क्षेत्रीले बताए।