अविरल वर्षाका कारण पहिरो खसेर अवरूद्ध बनेको पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक खुलाउनका लागि निरन्तर प्रयास जारी रहेको छ।
सडकमा पहिरो खस्नुका साथै केही स्थानमा बाढीले सडक कटान र डाइभर्सन बगाएपछि यातायात सञ्चालनमा समस्या भएको हो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार धादिङ जिल्लाको गजुरी गाउँपालिका–२ चालिसे र गजुरी गाउँपालिका–५ बाङ्गेमोडमा खसेको पहिरो हटाउने काम भइरहेको छ।
ठूलो परिमाणमा लेदोसहितको पहिरो खसेकाले सडक पूर्ण रूपमा खुलाउन केही समय लाग्ने जनाएको छ।
प्रवक्ता सुवेदीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत कृष्णभिरमा खसेको पहिरो हटाएपछि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था बनेको छ।
चालिसे र बाङ्गेमोडमा पहिरो पूर्ण रूपमा हटाउन बाँकी रहेकाले सो सडकखण्डमा तत्काल नियमित रूपमा सवारी सञ्चालन गर्न सकिने अवस्था नरहेको उनले जानकारी दिए।
'कृष्णभिरको पहिरो हटाई एकतर्फी सञ्चालन गर्न सकिने भए पनि चालिसे र बाङ्गेमोडलगायतका स्थानमा अझै पहिरो हटाउने काम बाँकी भएको सो मार्ग हुँदै सवारी सञ्चालनमा केही कठिनाइ छ,' प्रवक्ता सुवेदीले भने।
पहिरो हटाउने क्रममा थप वर्षा भएमा माथिबाट पुनः पहिरो खस्ने जोखिम रहेकाले सवारीसाधन सञ्चालनमा थप समस्या हुनसक्ने ट्राफिक प्रहरीले जनाएको छ।
यसैगरी, वर्षाका कारण काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बिपी राजमार्ग र कान्ति राजमार्गसहित सात राष्ट्रिय राजमार्गमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
विभिन्न स्थानमा पहिरो तथा बाढीका कारण सडक अवरुद्ध भएपछि सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
कान्तिलोकपथअन्तर्गत ठिङ्गन तथा फर्पिङ–फाखेल खण्डमा समेत पहिरो खसेकाले हटाउने काम भइरहेको छ।
ट्राफिक प्रहरीका अनुसार वर्षाकै कारण बिपी राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ।
बिपी राजमार्गको माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे, चौकीडाँडालगायत स्थानमा पहिरो तथा बाढीले डाइभर्सन बगाउँदा यातायात सेवा अवरुद्ध भएको हो।
बाढी र पहिरोका कारण सडकका विभिन्न स्थानमा आवागमन अवरुद्ध भएपछि यात्रु तथा चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा सडकको अवस्था बुझेरमात्र यात्रा गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।
वर्षा भइरहेका बेला पहाडी सडकमा जुनसुकै समयमा पहिरो खस्न सक्ने भएकाले अनावश्यक यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ।
उता काठमाडौंको दक्षिणकाली–सिस्नेरी सडकखण्डमा साना सवारीसाधन तथा टाटा सुमोलगायतका गाडी सञ्चालनमा छन्।
ठूला सवारीसाधनलाई भने त्रिभुवन राजपथ हुँदै सञ्चालन गर्ने व्यवस्था मिलाइएको प्रवक्ता सुवेदीले जानकारी दिए।
ट्राफिक प्रहरीका अनुसार दक्षिणकाली–सिस्नेरी सडकखण्ड तथा त्रिभुवन राजपथमा सवारीसाधनलाई निश्चित समयतालिका बनाएर आलोपालो सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।
सडकको अवस्था, सवारीको चाप र मौसमलाई ध्यानमा राखेर आवश्यक व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
लगातारको वर्षाका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिने तथा उपत्यका प्रवेश गर्ने प्रमुख सडकमार्गमा यातायात प्रभावित भएपछि यात्रु भने समस्यामा परेका छन्।
विशेषगरी पृथ्वीराजमार्ग र बिपी राजमार्गमा पहिरो तथा बाढीका कारण सडक अवरुद्ध हुँदा लामो दूरीका सवारीसाधन बाटोमै रोकिएका छन्।
प्रहरीले राजमार्गको अवस्था सामान्य नभएसम्म चालक तथा यात्रुलाई धैर्य गर्न, जबर्जस्ती अवरुद्ध सडक पार गर्ने प्रयास नगर्न र ट्राफिक प्रहरी तथा सम्बन्धित निकायले दिएको सूचनाअनुसार यात्रा गर्न आग्रह गरेको छ।