अविरल वर्षापछि झरेको पहिरोका कारण मध्यपहाडी लोकमार्ग ठप्प भएको छ।
सानीभेरीको बाढीले एउटा झोलुङ्गे पुल बगाएको छ। बाढी विद्यालयमा पस्दा क्षति पुगेको छ। यहाँ बाढीले पक्की घर पनि बगाएको छ।
रूकुम पूर्वको भूमे गाउँपालिका–१ मा लगातारको अविरल वर्षाका कारण पहिरो खस्नुका साथै भुमे–१ बडीगार्ड खोलामा आएको बाढीले सडक कटान गरी क्षति पुर्याएको जिल्ला प्रहरी प्रमुख डिएसपी खुमानन्द पाण्डेका अनुसार अवरूद्ध सडक खुलाउनेबारे मध्यपहाडी लोकमार्गसँग कुरा भएको छ।
मध्यपहाडीबाट जेसिबी आएपछि पहिरो पन्छाउने तथा भत्किएको सडक मर्मत गर्ने काम हुनेछ।
सडक मर्मत गर्न सोमबार दिनभर जसो लाग्ने र बेलुकी पख मात्रै सडक सञ्चालनमा आउन सक्ने डिएसपी पाण्डेले बताए।
रूकुम पूर्वको अवरोध हटाइएपछि अविरल वर्षापछि बाग्लुङ लगायतका जिल्लामा पनि पहिरो गएका कारण तत्कालै मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालन हुने सम्भावना भने नरहेको डिएसपी पाण्डेले जानकारी दिए।

केही दिनको अविरल वर्षातका कारण जिल्लाको सिस्ने गाउँपालिका – ५ धाउन्नेस्थित सानी भेरी नदीमा आएको बाढीले वडा नं. ७ नाथीगार्डस्थित पांगा पोखरा जोड्ने झोलुङ्गे पुलको एक साइडको भाग बगाएको छ। झोलुंगे पुल बगाएपछि स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ।
बाढीका कारण वडा नं. ५ मा रहेको क्रसर उद्योग जोखिममा रहेको छ। बाढीका कारण आसपासका बस्तीहरू समेत जोखिममा रहेको प्रहरीले जनाएको छ।
अविरल वर्षाको कारण उत्तरगंगा नदीको बाढी पुथाउत्तरगंगा गाउँपालिका – ११ माथिल्लो सेराबालुवामा रहेको श्री उत्तरगंगा आधारभूत विद्यालयमा पसेको छ।
विद्यालयमा पानी पस्दा विद्यालयको ५५ मिटर पेरिमिटरको पर्खाल भत्किएको छ।
साथै वर्षासँगै तीव्र गतिको हावा हुरीका कारण विद्यालयको कक्षा ३ र कक्षा ५ को भवनको २० वटा जस्ता पाता उडाएको छ। पानीका कारण विद्यालयको अफिसभित्र रहेका विभिन्न सामग्रीमा क्षति पुगेको छ।
६ वटा कम्प्युटर, ३ वटा चार्जर, ३ वटा ल्यापटप र ३ वटा चार्जर, मोगा फोन २ वटा, १५ वटा ह्वाइट बोर्ड, सोलार प्यानटको ब्याट्री ५ वटा, लाइब्रेरीका पुस्तक २९० वटा, १०० वटा रजिष्टरमा क्षति पुगेको बिद्यालय प्रशासनले जनाएको छ।
त्यस्तै अविरल वर्षापछि पुथाउत्तरगंगा गाउँपालिका – ६ डिम्मुरगैरामा तातोपानी खोलामा आएको बाढीले स्थानीय ४५ वर्षीय बलमान रोकाको १ तले ४ कोठे पक्की घर, उनले पालेका ३५ वटा कुखुरा र २ वटा खसी बगाएर लगेको छ।
