अचेल कुनै बच्चाले गीत सुन्न चाहे मोबाइल खोज्छ, कथा वा कार्टुन हेर्न सुन्न मनलागे युट्युबमै रोज्छ। इन्टरनेटमा हुर्किरहेको आजको बालपुस्तासँग आफूलाई मन परेका गीत, कथा, कविता वा कार्यक्रम रोज्ने अनगिन्ती विकल्प छन् तर टेलिभिजन र इन्टरनेट आउनुअघिका पुस्ताको बाल्यकालमा यस्तो सुविधा थिएन।
उनीहरूका लागि गीत, कविता, कथा र नाटक सुन्ने एकमात्र माध्यम रेडियो नेपाल थियो र ती कार्यक्रमहरु पनि रेडियोमा सधैँ आउँदैनथे। समय कुरेरै बस्नुपर्थ्यो। रेडियोबाट प्रसारण हुने बालकार्यक्रम नै उनीहरूको मनोरञ्जन र कल्पनाको संसार थियो। त्यही संसारमा बालबालिकाले रुचाउने गीत, कथा, कविता र नाटक बोकेर आइपुग्थे- वासुदेव मुनाल.
मुनाल हरेक साँझ बालबालिकालाई रेडियो सेटनजिक बोलाउँदै भन्थे, ‘आओ मेरा प्यारा प्यारा भाइबहिनी हो, रेडियो नजिक आओ! लौ त अब सुरु गरौँ आजको हाम्रो बालकार्यक्रम।’
रेडियो बज्न थालेपछि बालबालिका त्यसको वरिपरि झुम्मिन्थे। केही आफ्नै रचना रेडियोबाट सुनिने आशामा कान थापेर बस्थे। कविता, नाटकको संसारमा सयर गराउने मुनालको कार्यक्रम बालबालिकामाझ असाध्यै लोकप्रिय थियो। रेडियोमा केटाकेटीका लागि हरेक शुक्रबार कविता रेकर्ड गरिन्थ्यो। त्यसैले रेडियो नेपालको प्राङ्गणमा शुक्रबार दर्जनौँ बालबालिकाको रमाइलो जमघट हुन्थ्यो। रेडियो नेपालको गेटबाहिर २–३ कक्षादेखि ९–१० कक्षासम्मका विद्यार्थीहरूको समूह जम्मा हुन्थे। छनोट भएका केटाकेटीले उत्कृष्ट कविताहरू त्यसै दिन वाचन गर्न पाउँथे। मुनाल बालबालिकाको मनोविज्ञान बुझेर कार्यक्रम सञ्चालन गर्थे।
उनले बालबालिकालाई कार्यक्रमका श्रोतामा सीमित गरेनन्, बरु उनीहरूलाई रेडियोको स्टुडियोसम्म भित्र्याए। सो कार्यक्रम बालबालिकामात्र नभई अभिभावकसमेतले रुचाएका थिए। उनको बालकार्यक्रममा तत्कालीन युवराज दीपेन्द्र शाह, कलाकारहरू शर्मिला मल्ल, पूजा चन्द, सुनिता सुब्बा, ममता दीपविम, दीपकराज गिरी, मनोज गजुरेल, दमन रूपाखेती, जितु नेपाल, दीपाश्री निरौलालगायत सहभागी भएका थिए।
तत्कालीन बाल कार्यक्रममा सहभागी थुप्रैले मुनाललाई आफ्नो गुरुसमेत मानेका छन्। मुनालले तीन दशकभन्दा लामो समय सफल रुपमा बालकार्यक्रम सञ्चालन गरेका थिए।
‘हाम्रा शत्रु, ‘पिँ पिँ गर्छ बाजा’, ‘घैँटोमा घाम’ र ‘हराएको हात’ उनका बालसाहित्यिक कृति हुन्। उनले ‘सुनकेस्रा नामको बाल पत्रिका पनि निकालेका थिए। बाल कार्यक्रम निर्माण तथा बालसाहित्य सिर्जनाका क्रममा मुनाल स्वयं बालबालिकाका साथी बबने। रेडियो युगका यी बालसाथी बितेको १२ असोजमा १० वर्ष पुगेको छ।
१२ असोज २०७४ मा ६८ वर्षको उमेरमा घाँटीको क्यान्सरका कारण उनको निधन भएको थियो। मुनालको रुचि र दक्षता बालसंसार मात्र थिएन। बहुप्रतिभा सम्पन्न मुनाल गायन, सङ्गीत, लेखन र अभिनयमा समेत पोख्त कलाकार–लेखक थिए।
उनका लोकगीत, आधुनिक गीत, बालगीत, राष्ट्रिय गीत गरी ३५० भन्दा बढी गीत रेकर्डमा छन्।
‘झमझम इस्टकोट’, ‘तिम्रो घर चाँचरी’, ‘पानी खाने निहुँले’, ‘भए पनि ठीकै’, ‘दुई एकान दुई’, जस्ता दर्जनौँ चर्चित गीतका सर्जक हुन् उनी।
पाण्डव सुनुवारसँगको उनको सहकार्य विशेष चर्चित बन्यो। उनीहरुको ‘झमझम इस्टकोट’, ‘सक्यौ नानी सक्यौ नानी’, ‘सिरु न पाते खुकुरी मेरो’, ‘भिज्यो तिम्रो रातो पछ्यौरी’ जस्ता लोकजीवनसँग नजिक रहेका गीत अझै लोकप्रिय छन्। “बाख्रा झर्यो भीरैभीर भैँसी झर्यो खोला गोठालाले गाको गीत नबिर्सनुहोला...” मुनाललाई रेडियो नेपाल प्रवेश गराउने प्रथम गीत हो यो।
सुरुदेखि नै सरल तर झर्रो शब्दका गीतमा उनको रुचि देखिन्छ। उनको पहिलो गीत नै सङ्गीतकार नातिकाजीले मन पराए। त्यसपछि नातिकाजीकै आग्रहमा थप गीतहरु रेकर्ड मात्र भएन, रेडियो नेपालमा काम पनि पाए। नातिकाजी, फत्तेमान, नारायणगोपाल, मधु क्षेत्र, पाण्डव सुनुवार, मीरा राणालगायत तत्कालीन समयका स्थापित सर्जकसँग साङ्गीतिक सहकार्य गरेका थिए।
ताप्लेजुङमा जन्मेर उदयपुरको चौदण्डीगढीमा हुर्केका मुनालको जीवनको महत्वपूर्ण कालखण्ड विराटनगरमा बित्यो। विराटनगरमा साथीहरुसँग मिलेर उनले स्थापना गरेको ‘मुनाल मनोरञ्जनालय तथा गोपीनाथ पुस्तकालय’ अहिले पनि सञ्चालनमा छ। एउटा पुस्तालाई नै प्रभाव पार्ने मुनाल क्लब स्थापनापछि त्यो ठाउँ ‘मुनाल पथ’ नामबाट चिनिन थाल्यो। मुनाल क्लबबाट रेडियो नेपालमा छलाङ मारेका मुनाल २०२९ सालदेखि २०६४ सालसम्म रेडियो नेपालमा आबद्ध भए।
२०२९ सालमा रेडियो नेपालको देशव्यापी लोकगीत प्रतियोगितामा प्रथम भए मुनाल। प्रस्तोता हुँदै बालमहाशाखा उपनिर्देशकसम्मको भूमिकामा बसेर आफ्नो क्षमता प्रदर्शन गरेका थिए। मुनाल रेडियो प्रवेश गर्ने बेला बालगीत र हास्यगीतको सङ्ख्या न्यून थियो। आफ्ना लेखन र अन्तर्वार्तामा उनले बालगीत र लोकगीतको भण्डार बढाउन आफू सचेत रुपमै लागेको बताएका थिए।
‘पानी खाने निहुँले’ उनको यस्तै हास्यशैलीको गीत हो। यो गीतको कथा रोचक रहेको मुनालले लेखेको डायरीमा भेटिन्छ। रेडियो नेपालको कोठा नं ६ मा नारायणगोपाल, नातिकाजी, मधु क्षेत्रीलगायत सङ्गीतकर्मी भेला भएको दिन थियो। कसैले मुनाललाई भने, “ट्र्याजिक होइन, रोमान्टिक गीत गाउनुस्।”
नातिकाजीले थपेका थिए, “हो मुनालजी, आज स्टुडियो पनि खाली छ।’ मुनाल तत्कालै गीत लेख्न जोसिए। आधा घण्टामा गीतै तयार पारे, ‘पानी खाने निहुँले तिम्रो घरमा आउँला, मौका मिले रानीवनमा घुम्न जाउँला।’ तत्कालको सिर्जनाबाट जन्मिएको गीत अझै पनि निकै चर्चामा छ।
मुनालबारे छोरा मोहित भन्छन्, ‘घरमा सँगै पिएर राति अबेर सुतेका हुन्थ्यौँ, बिहान उठ्दा बुबाको हातमा पूर्ण रुपमा तयार स्क्रिप्ट हुन्थ्यो।’ मोहितका अनुसार मुनालले ‘कसले माया गर्छ’ एल्बमका ६ गीतमा स्वर, शब्द र गायनसँगै क्यासेट उत्पादनका सम्पूर्ण काम जम्मा तीन दिनमै सकेका थिए।
आफ्ना बहुविधागत सिर्जनात्मक कर्मले एउटा सिङ्गो पुस्ताकै साझा स्मृतिमा बास पाउन सफल कलाकार हुन् मुनाल। रोगले थलिएपछि वासुदेव भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत थिए। ६८ वर्षको उमेरमा क्यान्सरसँग जुधिरहेका क्षणमा पनि उनी केही न केही कोरिरहेका थिए। जीवनका अन्तिम पलमा समेत कम्तीमा दैनिक एक घन्टा लेख्न आफैलाई उत्प्रेरित गरिरहेका हुन्थे। तर आफ्ना भोगाइ र अनुभूति समेटेर आत्मकथा प्रकाशन गर्ने उनको इच्छा भने अधुरै रह्यो।
घाम डुब्ने बेला बालकार्यक्रम लिएर उदाउने मुनालको आवाज आखिरमा अस्तायो। मुनालको निधनपछि २०७५ सालमा उनको परिवारले वासुदेव मुनाल स्मृति फाउन्डेसन स्थापना गरेका थिए। फाउन्डेसनका महासचिव समेत आफै रहेका छोरा मोहितका अनुसार फाउन्डेसनले मुनालका गीतसङ्गीत तथा साहित्यिक कृतिको संरक्षण प्रवर्द्धनका लागि पनि काम गरिरहेको छ।
यसै क्रममा फाउन्डेसनले मुनालको जीवित छँदै पूरा हुन नपाएको एउटा अधुरो चाहनालाई मूर्त रुप दिँदैछ। त्यो हो, मुनालको आत्मकथा समेटिएको जीवनपरक कृति ‘आओ मेरा प्यारा प्यारा भाइबहिनी हो, रेडियो नजिक आओ।’ मुनालले तीन दशकभन्दा लामो रेडियोकालमा सबैभन्दा दोहोर्याएको वाक्य हो ‘आओ मेरा प्यारा प्यारा भाइबहिनी हो, रेडियो नजिक आओ।’
यो वाक्य मुनालको पहिचान पनि हो। यसकारण पनि मुनालको जीवनीपरक संस्मरणको नाम यही राखिएको मोहितले बताए। बुकहिलबाट आगामी मङ्सिरमा प्रकाशनको तयारी गरिएको पुस्तकमा वासुदेव मुनालको बाल्यकालदेखि जीवनका अन्तिम क्षण सम्मका विभिन्न सन्दर्भ समेटिएको छ।
प्रकाशोन्मुख पुस्तकका सम्पादक प्रभाकर गौतम भन्छन्, ‘कला, साहित्य र सङ्गीतका त्रिवेणी सर्जक मुनाललाई व्यक्ति र कलाकारका रुपमा चिनाउने पुस्तक हो यो संस्मरण। किताबले रसिक तर सरल व्यक्तित्व मुनालका जीवनका रमाइला र भोगाइलाइ एकसाथ उजागर समेटेको बताइएको छ।’