बाँकेका एक जना युवा निर्माण व्यवसायीलाई हनी ट्रयापमा पारी २० लाख बढी असुलेको आरोपमा एक जना महिला पक्राउ परेकी छन्।
बैजनाथ गाउँपालिका–२ का ३२ वर्षीय निर्माण व्यवसायीलाई योजनाअनुसार माया जालमा फसाइ विभिन्न मुद्दामा फसाइदिने डरत्रास देखाएर ती महिलाले पटक–पटक गरी नगद र जिन्सी सामान गरी २० लाख बढी ठगी गरेको प्रहरीले जनाएको छ।
सोही आरोपमा रामेछापको गोकुलगंगा नगरपालिका–२ घर भई काठमाडौं–१० सुकेधारामा कोठा भाडामा बस्ने ३० वर्षीया सबिता श्रेष्ठलाई असोज ५ गते बाँके प्रहरीको आग्रहमा काठमाडौं प्रहरीले पक्राउ गरेको हो। सोमबार प्रहरीले घटना सार्वजनिक गरेको हो।
बाँकेका प्रहरी प्रवक्ता डिएसपी प्रतितसिंह राठोरका अनुसार पक्राउ परेकी महिलालाई घटना अनुसन्धानका लागि बाँके ल्याई अनुसन्धान भइरहेको छ।
ठेक्कापट्टाको काम गर्ने क्रममा ती पुरूष र श्रेष्ठको बीचमा चिनजान भएपछि योजनाबद्ध रूपमा हनी ट्रयापमा पारी अनुचित लाभ लिने कार्यमा महिला लागेको प्रहरी अनुसन्धानबाट खुलेको डिएसपी राठोरले जानकारी दिए।
डिएसपी राठोरका अनुसार हालसम्म ती महिलाविरूद्ध एक जनाको मात्रै उजुरी परेको भए पनि अर्का एक जनाले पनि आफू पीडित बनेको भनेर मौखिक रूपमा प्रहरीलाई जानकारी दिएका छन्। उनलाई जाहेरी दिन आउनका लागि बाँकेमा आउन भनिएको डिएसपी राठोरले बताए।
अन्य कोही व्यक्ति पीडित भए पनि सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको छ। प्रहरी हिरासतमा रहेकी महिलाविरूद्ध जिल्ला अदालतबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।