प्रतिपक्षी दल नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले वर्तमान सरकारको कार्यशैली र संवैधानिक हैसियतमाथि प्रश्न उठाउँदै सरकारलाई ‘जरासन्ध’ को उपमा दिएका छन्।
बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारका क्रियाकलाप अलोकतान्त्रिक र संविधानको मर्मविपरित रहेको दाबी गरेका हुन्।
उनले सरकारको सञ्चालनमा राष्ट्रपति संस्थाको गरिमालाई नजरअन्दाज गरिएको आरोपसमेत लगाए।
‘बहुमत प्राप्त संसदीय दलको नेता प्रधानमन्त्री हुँदा पनि यो सरकार संवैधानिक जस्तो देखिँदैन। आफ्नै दलको बैठकमा सहभागी नहुने निर्दलीय शैली, सर्वदलीय बैठकबाट भाग्ने एकदलीय चरित्र र भूमिगत गिरोहको प्रभावमा चल्ने पञ्चायती व्यवस्थाको झल्को दिने यो सरकारको स्वरूप कस्तो हो। महाभारत कालमा जरा नामकी राक्षसीले दुई आधा शरीर जोडेर जरासन्ध जन्माए झैँ, यो सरकारको बनोट र शैली पनि त्यस्तै छ,' उनले भने।
–न्युज एजेन्सी नेपाल