सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटाले संक्रमणकाली न्यायसम्बन्धी फाइलहरू तत्काल खोल्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले दुई दशकदेखि संक्रमणकालीन न्यायका फाइलरहरू अलपत्र अवस्थामा रहेकाले निकास दिन सरकारको ध्यानकर्षण गराएकी हुन्।
सांसद बास्कोटाले विगत २० वर्षदेखि शान्ति मन्त्रालय हुँदै गृह र कानून मन्त्रालयको दराजमा थन्किएका सङ्क्रमणकालीन न्यायका मुद्दाहरू प्राथमिकतामा पर्नुपर्नेमा बताइन्।
लामो समयदेखि पीडितहरू न्यायको पर्खाइमा रहे पनि प्रशासनिक ढिलासुस्तीले प्रक्रिया अगाडि बढ्न नसकेको उनको भनाइ छ।
उहाँले विगत एक वर्षदेखि गृह मन्त्रालयमा अड्किएको ‘जेन–जी’ आन्दोलनसँग सम्बन्धित फाइलको पनि तत्काल सुनुवाइ हुनुपर्ने माग गरिन्।
सरकारले सात दिनभित्र हरेक फाइल निर्णयार्थ पेश गर्ने भनी गरेको प्रतिवद्धतालाई उनले सकारात्मक रूपमा लिँदै त्यसलाई कार्यान्वयनको तहमा लैजान आग्रह गरिन्।
‘सरकारले सात दिनभित्र फाइल अगाडि बढाउने भनेको कुरा सकारात्मक छ, तर ती फाइलहरू कहाँ र कुन अवस्थामा छन् भन्नेकुरा महत्वपूर्ण हुन्छ,' उनले भनिन्।
उनले सरकारको प्रतिवद्धता व्यवहारमै देखिने र पीडितले न्याय पाउने कुरामा आफू विश्वस्त रहेको बताइन्। –न्युज एजेन्सी नेपाल