हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण ४१ नेपाली अलपत्र परेका छन्।
हिल्सा–ताक्लाकोट आवतजावत प्रभावित भएपछि उनीहरू हिल्सामै रोकिएको अध्यागमन अधिकृत विमल पौडेलले बताए।
उनका अनुसार अलपत्र पर्नेमा नाम्खा गाउँपालिका–१, २ र ३ का नागरिक हुन्।
उनीहरूमध्ये अधिकांश ताक्लाकोटमा व्यापार व्यवसाय गर्दै आएका छन्।
गत शुक्रबार हिल्सा पुगेका उनीहरू हिमपात सुरु भएपछि नाकामा रोकिएको उनले बताए।
हिमपातका कारण कैलाश मानसरोवर दर्शनका लागि चिनियाँ पक्षले आवतजावत बन्द गरेको छ।
हिल्सामा कार्यरत अध्यागमन कर्मचारी पेमा लामाका अनुसार अक्टोबर ४ अर्थात् असोज १८ गतेदेखि नाका खुल्ने बताइएको छ।
हिल्सा पुग्ने बाटो खुलाउन चुनौती
चीनतर्फको सडक खुलाउने काम भइरहेको भए पनि नेपालतर्फ अझै केही समय लाग्ने बताइएको छ।
हुम्लास्थित सशस्त्र प्रहरी बल नेपाल नं ४४ गुल्मका प्रहरी नायब उपरीक्षक नन्दबहादुर साउदका अनुसार हिल्सामा करिब दुईदेखि अढाइ फिटसम्म हिउँ जमेको छ।
हिल्सा पुग्न नारा लेक पार गर्नुपर्ने भएकाले त्यहाँ जमेको हिउँ पन्छाउन थप समय लाग्ने उनले बताए।
हिल्सामा एउटामात्रै एक्स्काभेटर रहेकाले सडक खुलाउने काममा कठिनाइ भएको र इन्धनको समस्या रहेको उनको भनाइ छ।
स्थानीयवासी र सुरक्षाकर्मीले हिउँ पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास जारी राखेका छन्।
६ हजार १० जनाले गरे कैलाश मानसरोवर दर्शन
यस वर्ष हालसम्म हिल्सानाका हुँदै ६ हजार १० जना पर्यटकले कैलाश मानसरोवर दर्शन गरेका छन्। अध्यागमन अधिकृत पौडेलका अनुसार कैलाश मानसरोवर जाने पर्यटकमा अधिकांश भारतीय नागरिक छन् । त्यसपछि बेलायत, अमेरिका र नेपाली रहेका छन्।
यस वर्ष कैलाश मानसरोवर दर्शनको मुख्य समय सकिनै लाग्दा भएको भारी हिमपातले हिल्सा नाकामा आवतजावतसँगै स्थानीय व्यापार र सीमा क्षेत्रको जनजीवन प्रभावित भएको छ।