दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै काठमाडौं प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ।
चाडपर्वका समयमा हुनसक्ने चोरी, पाकेटमारी, लुटपाट, जुवा, ठगी, अपहरण तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न काठमाडौंमा ३ हजार ५०६ प्रहरी परिचालन गरिने भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दान थापाका अनुसार चाडपर्वका समयमा भीडभाड हुने स्थान, धार्मिक स्थल, बजार तथा यातायात केन्द्रलाई विशेष निगरानीमा राखिनेछ।
‘चाडपर्वका समयमा नागरिकको आवागमन बढ्ने भएकाले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइएको छ। संवेदनशील तथा भीडभाड हुने स्थानमा प्रहरीको उपस्थिति बढाएर अपराध हुन नदिने र घटना भएमा छिटो प्रतिक्रिया दिने गरी व्यवस्था मिलाएका छौं,’ एसपी थापाले भने।
काठमाडौं प्रहरीले असोज १६ देखि कात्तिक ३० गतेसम्मका लागि विशेष सुरक्षा योजना लागू गरेको हो। आवश्यकताअनुसार तालुक कार्यालयबाट थप १९० जनशक्ति माग गरी परिचालन गर्न सकिने प्रहरीले जनाएको छ।
प्रहरीले न्यूरोड, असन, कोटेश्वर, कलंकीलगायतका भीडभाड हुने क्षेत्र, पशुपतिनाथ, गुह्येश्वरी तथा दक्षिणकालीलगायतका धार्मिक स्थल, नयाँ बसपार्क, कलंकी र बल्खुका यातायात केन्द्र तथा शपिङ मल, सुनचाँदी पसल, बैंक तथा एटीएमलाई सुरक्षा केन्द्रित क्षेत्रका रूपमा पहिचान गरेको छ।
यात्रु तथा नागरिकको सहजताका लागि कलंकी, कोटेश्वर, गौशाला, गोंगबु बसपार्क, बल्खु, नागढुंगा, बालाजु, सितापाइला, जोरपाटीलगायतका स्थानमा सहायता कक्ष स्थापना गरिनेछ। २५ वटा सामुदायिक सेवा केन्द्रबाट समेत सेवा उपलब्ध गराउने र घटना भएको ५ देखि १० मिनेटभित्र घटनास्थल पुग्ने गरी सुरक्षा व्यवस्थापन गरिने प्रहरीले जनाएको छ।
सुरक्षा योजनाअन्तर्गत मोबाइल गस्ती, पैदल गस्ती, पिकेट, क्यूआरटी, चेकपोइन्ट, सादा पोशाकका प्रहरी, संयुक्त चेकिङ तथा संवेदनशील स्थान केन्द्रित ड्युटी परिचालन गरिनेछ। रात्री गस्ती, मन्दिर सुरक्षा, खसी बजार तथा बढी भीडभाड हुने स्थानमा समेत विशेष ड्युटी खटाइनेछ।
प्रहरीले प्रविधिको प्रयोगलाई पनि प्राथमिकतामा राखेको छ। काठमाडौंमा रहेका १ हजार २४२ वटा सिसिटिभी, तीनवटा ड्रोन, के–९ टोली तथा सामाजिक सञ्जाल मनिटरिङ डेस्कमार्फत निगरानी गरिनेछ।
‘प्रविधिको प्रयोगसँगै नियमित गस्ती, चेकजाँच र नागरिकसँगको सहकार्यलाई पनि प्राथमिकता दिएका छौं। संदिग्ध गतिविधि देखिएमा तत्काल प्रहरीलाई सूचना दिन नागरिकलाई आग्रह गरेका छौं,’ एसपी थापाले भने।
चाडपर्वका बेला जुवा, लंगुरबुर्जा, नक्कली टिकट तथा ठगी, मदिरा सेवनपछि हुने झगडा र सवारी दुर्घटना, घर बन्द रहेका बेला हुने चोरी तथा पटका–आतसबाजीबाट हुनसक्ने आगलागीलाई प्रहरीले प्रमुख जोखिमका रूपमा पहिचान गरेको छ।
प्रहरीले घर छाडेर यात्रा गर्दा बहुमूल्य सामान सुरक्षित राख्न, अपरिचित व्यक्तिलाई घरमा प्रवेश नदिन, अनलाइन कारोबार गर्दा फेक वेबसाइट तथा लोभलाग्दा अफरबाट सावधान रहन र कुनै शंकास्पद गतिविधि देखिएमा प्रहरीको १०० नम्बरमा जानकारी दिन आग्रह गरेको छ।