बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको बुढीगंगा नगरपालिका – २ परिवनका ४२ वर्षीय धनबहादुर केसीको सामुदायिक वनभित्र करेन्ट लागेर मृत्यु भएको हो।
आइतबार बेलुकीपख आफन्तले खोज तलास गर्ने क्रममा बुढीगंगा – २ स्थित परिवन सामुदायिक वन भित्र केन्द्रीय प्रसारणको लाइनको पोलबाट करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको अवस्थामा उनी फेला परेका थिए।
बेलुकी पौने ८ बजेतिर जिल्ला प्रहरी कार्यालय बाजुरामा स्थानीयले टेलिफोन मार्फत केसी जंगलभित्र विद्युत पोलबाट करेन्ट लागि मृत्यु भएको अवस्थामा फेला परेको भन्ने जानकारी दिएका थिए।
सूचनाको आधारमा अस्थाई प्रहरी बेस क्याम बल्देबाट प्रहरी वरिष्ठ हवल्दार रतनबहादुर साउदको कमाण्डमा ४ जनाको टोली मध्यराति घटनास्थल पुगेर घटनास्थल सुरक्षित राखेको थियो।
सोमबार बिहान ५ बजेतिर प्रहरी चौकी बार्जुगाडबाट प्रहरी नायब निरीक्षक जंगबहादुर चन्दको कमाण्डमा थप ५ जनाको प्रहरी टोली घटनास्थलका लागि खटिएको छ।
घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षको कमाण्डमा ७ जनाको प्रहरी टोली खटिएको जिल्लाका प्रबक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीले बताए।
शाहीका अनुसार घटनास्थलमा खटिएका कुनै पनि प्रहरी अधिकारी सँग फोन सम्पर्क हुन सकेको छैन।
मृतक किन जंगलमा पुगेका थिए र उनलाई कसरी करेन्ट लाग्न पुग्यो भन्ने कुरा थप अनुसन्धान पछि खुल्ने शाहीले बताए।