पछिल्लो समय सेयर बजारमा आएको सुधारसँगै विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्कको सम्पत्ति फेरि १० खर्ब (एक ट्रिलियन) डलर नाघेको छ।
ब्लुमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार सोमबार मात्रै मस्कको सम्पत्ति ६५ अर्ब डलरले बढेर १० खर्ब ४० अर्ब डलर पुगेको हो। उनको सम्पत्तिमा भएको यो वृद्धि मुख्यतः सेप्स एक्स र टेस्लामा रहेको उनको सेयरको मूल्य बढेपछि भएको ब्लुमबर्गले जनाएको छ।
अक्टोबर सुरू भएयता स्पेस एक्सको सेयर मूल्य १३ प्रतिशतले बढेको छ भने टेस्लाको सेयर ६.७ प्रतिशतले उकालो लागेको छ।
योसँगै करिब तीन महिनापछि मस्कको सम्पत्ति फेरि १३ अंकमा पुगेको हो। उनी यसअघि जुनमा विश्वकै पहिलो डलर ट्रिलियनियर बनेका थिए। स्पेसएक्सको किर्तिमानी मूल्यमा भएको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) पछि कम्पनीको मूल्य तीव्र रूपमा बढ्दा मस्कको सम्पत्ति १० खर्ब डलर नाघेको थियो। तर त्यसपछि कम्पनीको अत्याधिक मूल्यांकनप्रति लगानीकर्ताको चिन्ता बढेपछि सेयर मूल्य घट्दा उनले ट्रिलियनियर हैसियत गुमाएका थिए।
जुलाईको अन्त्यसम्म मस्कको सम्पत्तिमा ६ खर्ब डलरभन्दा बढीको गिरावट आएको थियो। ब्लुमबर्गको विश्वका ५०० धनी व्यक्तिको सूचीमा रहेका अन्य कुनै व्यक्तिको कुल सम्पत्ति कहिल्यै पनि ६ खर्ब डलर पुगेको छैन।
स्पेसएक्स र टेस्लाको सुधारले बढायो सम्पत्ति
पछिल्लो वृद्धिमा स्पेसएक्स र टेस्लाप्रतिको लगानीकर्ताको बढ्दो आशा प्रमुख कारण बनेको छ।
सोमबार मोर्गन स्ट्यान्लीका विश्लेषकहरूले स्पेसएक्सलाई अन्तरिक्ष तथा इन्टेलिजेन्स क्षेत्रमा लगानीका लागि आकर्षक विकल्पका रूपमा व्याख्या गरेका छन्। यससँगै कम्पनीको सेयरमा थप उत्साह देखिएको छ। अगस्टमा न्यून विन्दुमा पुगेयता स्पेसएक्ससँग सम्बन्धित सेयर मूल्य ५८ प्रतिशतले बढिसकेको छ।
टेस्लाले पनि पछिल्लो समय अपेक्षाभन्दा राम्रो बिक्री विवरण सार्वजनिक गरेको छ। गत साता सार्वजनिक तेस्रो त्रैमासिक बिक्री तथ्यांक बजारको अपेक्षाभन्दा राम्रो देखिएपछि कम्पनीको सेयर मूल्यमा समेत सुधार आएको हो।
सम्पत्तिको ठूलो हिस्सा दुई कम्पनीमै
ब्लुमबर्गको सम्पत्ति सूचकांकअनुसार मस्कको कुल सम्पत्तिको ९८ प्रतिशतभन्दा बढी हिस्सा स्पेसएक्स र टेस्लामा रहेको छ।
त्यसैले यी दुई कम्पनीको सेयर मूल्यमा आउने उतारचढावले उनको व्यक्तिगत सम्पत्तिमा पनि ठूलो प्रभाव पार्ने गरेको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)