अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य शक्तिको प्रदर्शन गर्दै इरान विरूद्ध युद्ध सुरू गरेका थिए। तर युद्ध सुरू भएको सात महिना पुग्दा त्यसको अर्को तस्बिर देखिन थालेको द न्युयोर्क टाइम्सले लेखेको छ।
अमेरिका मध्यपूर्वका केही संवेदनशील सैन्य अड्डाबाट सैनिक र सैन्य उपकरण हटाइरहेको छ। खाडी क्षेत्रमा रहेका आफ्ना सैन्य संरचनाको भविष्यबारे अमेरिकी रक्षा मन्त्रालयले पुनर्विचार गरिरहेको छ। र, सबभन्दा प्रतीकात्मक घटनाका रूपमा बेलायतको रोयल एयर फोर्स फेयरफोर्डबाट १२ वटा बी–१ बमवर्षक विमान अमेरिका फिर्ता लगिएका छन्।
अमेरिका र बेलायतका अधिकारीका अनुसार फेयरफोर्डमा रहेका ती बमवर्षक र त्यहाँका अमेरिकी सैनिकमाथि सम्भावित ड्रोन आक्रमणबारे प्राप्त नयाँ सूचनापछि बमवर्षकहरू हटाइएको हो। अमेरिकी अधिकारीहरूले यो कदमलाई सावधानीका रूपमा व्याख्या गरेका छन्। इरानले भने यसमा आफ्नो संलग्नता अस्वीकार गरेको छ।
एक ठाउँबाट अर्को ठाउँमा सैन्य स्रोत सार्नु अमेरिकी सेनाका लागि असामान्य कुरा होइन।
तर इरान युद्धको समग्र तस्वीरमा बी–१ बमवर्षकलाई बेलायतबाट फिर्ता ल्याउने निर्णय अमेरिकी सैन्य परिचालनमा देखिएको एउटा महत्वपूर्ण परिवर्तनको प्रतीक बनेको टाइम्सको जिकिर छ।
अमेरिकासँग इरानलाई परम्परागत सैन्य युद्धमा ठूलो क्षति पुर्याउने क्षमता छ। तर इरानले अमेरिकी सेनालाई इरानी पहुँचभित्रको क्षेत्रमा लामो समय टिकिराख्न कठिन बनाइरहेको छ।
यही ट्रम्पको इरान युद्धको सबैभन्दा महत्वपूर्ण पाठ हो।
फेब्रुअरी २८ मा इरानमाथि आक्रमणको आदेश दिँदा ट्रम्पले लामो युद्ध हुने अपेक्षा गरेका थिएनन्।
सुरूमा उनले केही दिनमै युद्ध सकिने संकेत गरे। त्यसपछि पाँच–छ हप्ताको कुरा गरे। उनले इरानलाई ‘बिनासर्त आत्मसमर्पण’ गर्न भने।
तर युद्ध लम्बिएको छ।
इरानको सैन्य संरचनामा ठूलो क्षति पुगेको छ। ट्रम्प सरकारले अमेरिकी आक्रमणबाट इरानको नौसैनिक तथा क्षेप्यास्त्र क्षमतामा ठूलो क्षति पुगेको बताउँदै आएको छ। अमेरिकी अधिकारीहरूले इरानको सैन्य क्षमतामा भएको क्षतिको विस्तृत आँकडा नै सार्वजनिक गरेका छन्।
तर सैन्य क्षति र आर्थिक संकटले इरानलाई अमेरिकासामु पूर्ण रूपमा असहाय भने बनाएको छैन।
इरानले युद्धको अर्को बाटो रोजेको छ।
उसले अमेरिकी सेनालाई प्रत्यक्ष रूपमा पराजित गर्नेभन्दा अमेरिकी सैन्य शक्ति परिचालन गर्ने पूर्वाधारमाथि प्रहार गर्न थालेको छ।
इरानी क्षेप्यास्त्र र ड्रोनले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य संरचनामाथि पटक–पटक आक्रमण गरेका छन्।
खाडी क्षेत्रका अमेरिकी सैन्य संरचनामा भएको क्षतिले अमेरिकालाई आफ्नो सैन्य उपस्थितिको पुरानो ढाँचाबारे पुनर्विचार गर्न बाध्य बनाएको छ। पेन्टागनले खाडीमा अमेरिकी सैन्य उपस्थितिको आकार घटाउने तथा केही सैनिकलाई अन्य स्थानमा सार्ने सम्भावनाबारे अध्ययन गरिरहेको छ।
कुवेतको पोर्ट शुआइबामा मार्च १ मा भएको इरानी ड्रोन आक्रमणमा ६ अमेरिकी सैनिक मारिए। उनीहरू अमेरिकी सेनाको एउटा ट्याक्टिकल अपरेसन सेन्टरमा कार्यरत थिए। दर्जनौँ सैनिक घाइते भएका थिए।
उक्त घटनाले अमेरिकी सैन्य अड्डा र अग्रपंक्तिका साना सैन्य संरचनाको सुरक्षामाथि गम्भीर प्रश्न उठायो। अमेरिकी सैनिकहरूले पहिले नै सम्भावित इरानी आक्रमणको चेतावनी रहेको बताएका छन्।
मध्यपूर्वका अन्य अमेरिकी सैन्य संरचनामा पनि क्षति पुगेको छ। उपग्रह तस्बिरको विश्लेषणले कम्तीमा सात अमेरिकी सैन्य स्थलमा सञ्चार तथा राडार प्रणालीसँग सम्बन्धित संरचनामा क्षति पुगेको देखाएको थियो।
यी घटनाले अमेरिकी सेनालाई आफ्ना सैनिक र उपकरण एकै ठाउँमा केन्द्रित राख्नेभन्दा फैलाएर तथा केही स्थानबाट टाढा सारेर परिचालन गर्ने आवश्यकता बढाएको छ।
यसले युद्धको भूगोल नै बदलिदिएको छ।
ड्रोनले बदलिदिएको सैन्य सुरक्षा
अग्रपंक्तिमा सैन्य अड्डा राखेर त्यहाँबाट शक्ति परिचालन गर्ने दशकौँदेखि अमेरिकी सैन्य रणनीतिको एउटा महत्वपूर्ण आधार थियो।
तर आधुनिक ड्रोन युद्धले त्यो अवधारणामाथि नयाँ प्रश्न खडा गरेको छ।
सस्तो र तुलनात्मक रूपमा सामान्य ड्रोनले करोडौँ डलर मूल्यका विमान, राडार, इन्धन भण्डार वा सञ्चार प्रणालीलाई निशाना बनाउन सक्छ।
युक्रेनले रूसको गहिरो भूभागमा ड्रोन पुर्याएर सैन्य विमानमाथि गरेको आक्रमणले पनि आधुनिक युद्धमा लामो दूरीका साना ड्रोनले सिर्जना गरेको नयाँ जोखिम देखाएको छ।
फेयरफोर्डको घटनाले यो जोखिमलाई अझ फराकिलो बनाएको छ।
अमेरिकी सेना इरानबाट हजारौँ किलोमिटर टाढा बेलायतमा थियो। तर सम्भावित इरानी ड्रोन आक्रमणको सूचनापछि त्यहाँ रहेका १२ वटा बी–१ बमवर्षक अमेरिका फिर्ता लगिए।
पेन्टागनले अमेरिकी बमवर्षकहरू अमेरिका महादेशभित्रका आधारबाटै विश्वका जुनसुकै क्षेत्रमा प्रहार गर्न सक्षम रहेको बताएको छ। त्यसैले बमवर्षक फिर्ता हुनु अमेरिकी सेनाको लामो दूरीको प्रहार क्षमता समाप्त हुनु होइन।
तर यसको अर्को अर्थ भने महत्वपूर्ण छ।
अमेरिकी सैन्य शक्ति इरानको नजिक हुँदा मात्र जोखिममा छैन। इरानबाट धेरै टाढा रहेको अमेरिकी सैन्य संरचना पनि नयाँ किसिमको जोखिममा पर्न सक्छ।
अब सैन्य उपकरणलाई क्षेप्यास्त्रको पहुँचभन्दा बाहिर राख्नु मात्र पर्याप्त नहुन सक्छ।
अमेरिकी शक्ति कमजोर भएको होइन, महँगो भएको हो
अमेरिकासँग अझै इरानमाथि हजारौँ किलोमिटर टाढाबाट आक्रमण गर्ने क्षमता छ। बी–१ बमवर्षक अमेरिकाबाटै उडाएर लामो दूरीको मिसन सञ्चालन गर्न सकिन्छ।
तर त्यसका लागि बढी दूरी पार गर्नुपर्छ। बढी समय लाग्छ। थप इन्धन र हवाई समर्थन आवश्यक पर्न सक्छ।
यही समस्या अमेरिकी नौसेनामा पनि देखिएको छ।
अमेरिकी विमानवाहक युद्धपोतहरू खाडीभन्दा बाहिर अरब सागरमा परिचालन हुन सक्छन्। तर तिनलाई आपूर्ति र समर्थनका लागि टाढाका आधारमा बढी निर्भर हुनुपर्ने अवस्था आउन सक्छ।
अमेरिकी रक्षा मान्त्रालयले खाडी क्षेत्रमा सैन्य उपस्थिति घटाउने सम्भावनाबारे गरेको अध्ययनमा सैनिकलाई जोर्डन, इसराइल वा साउदीको रेड सी तटतर्फ सार्ने विकल्प समेत छलफल गरेको छ। तर इरानले यी टाढाका स्थानमा समेत प्रहार गर्न सक्ने क्षमता देखाइसकेकाले यसले समस्या पूर्ण रूपमा समाधान गर्दैन।
यसले अमेरिकी सैन्य शक्तिको क्षमता समाप्त गर्दैन। तर त्यसको परिचालन महँगो, ढिलो र जटिल बनाउँछ। यही नै यो युद्धको मुख्य रणनीतिक समस्या हो।
अमेरिकाले इरानमाथि प्रहार गर्न सक्छ। तर इरानको पहुँचभित्र रहेर लामो समयसम्म ठूलो अमेरिकी सैन्य उपस्थिति कायम राख्न पहिलेभन्दा कठिन भएको छ।
इरानले सिकेको पाठ
अमेरिकाले आफ्ना सैन्य अड्डा र सैनिकको पुनर्स्थापनालाई सुरक्षा आवश्यकताबाट प्रेरित निर्णयका रूपमा व्याख्या गर्न सक्छ।
त्यो सैन्य दृष्टिले सही पनि हुन सक्छ। तर लगातारको यस्तो पुनर्स्थापनाको रणनीतिक अर्थ भने ठूलो छ।
इरानले एउटा महत्वपूर्ण रणनीतिक निष्कर्ष निकाल्न सक्छ। अमेरिकी सेनालाई परम्परागत युद्धमा पराजित गर्न नसके पनि त्यसलाई अग्रमोर्चाबाट टाढा सार्न बाध्य पार्न भने सकिन्छ।
पूर्वअमेरिकी रक्षा अधिकारी तथा मध्यपूर्व विज्ञ डाना स्ट्रोलले पनि इरान युद्धले अमेरिकी सैन्य उपस्थितिको परम्परागत ढाँचाका कमजोरी उजागर गरेको बताएकी छन्। उनका अनुसार अमेरिकी सैन्य श्रेष्ठताले युद्धका सबै रणनीतिक समस्या समाधान गर्न सकेको छैन।
त्यो पाठ इरानमा मात्र सीमित नहुन सक्छ। अमेरिकाका अन्य सम्भावित प्रतिद्वन्द्वीले पनि यही रणनीति अध्ययन गर्न सक्छन्।
अमेरिकासँग ठूलो सैन्य शक्ति छ। तर त्यो शक्ति कहाँ र कति समयसम्म सुरक्षित रूपमा परिचालन गर्न सकिन्छ भन्ने प्रश्न अझ महत्वपूर्ण हुँदै गएको छ।
मध्यपूर्वमा अमेरिकी उपस्थितिको औचित्यमाथि प्रश्न
दशकौँदेखि अमेरिकाले मध्यपूर्वमा आफ्नो सैन्य उपस्थिति कायम राख्नुको एउटा प्रमुख कारण समुद्री मार्गको सुरक्षा पनि हो।
विशेषगरी स्ट्रेट अफ हर्मुजको सुरक्षा अमेरिकाका लागि रणनीतिक प्राथमिकता रहँदै आएको छ।
तर अहिलेको युद्धले समुद्री मार्गको सुरक्षासमेत जटिल बनाएको छ। हर्मुज क्षेत्रमा इरानी आक्रमण र धम्कीका कारण जहाजको आवागमनमा जोखिम र लागत बढेको छ। यद्यपि युद्धको सुरुआती चरणमा घटेको तेल प्रवाह सेप्टेम्बरसम्म उल्लेख्य रूपमा पुनःस्थापित भएको थियो।
यदि इरान नजिक रहेका अमेरिकी अड्डा असुरक्षित हुन्छन् र अमेरिकी युद्धपोतहरू खाडीबाट टाढा बस्न बाध्य हुन्छन् भने मध्यपूर्वमा अमेरिकी सैन्य उपस्थितिको पुरानो ढाँचा पुनर्विचार गर्नुपर्ने हुन्छ।
पेन्टागनले यही सम्भावनालाई ध्यानमा राखेर आफ्नो क्षेत्रीय सैन्य संरचनाको भविष्यबारे अध्ययन गरिरहेको छ।
अर्बौं डलरको अर्को बोझ
युद्धले अमेरिकामाथि ठूलो आर्थिक बोझ पनि थपेको छ। सेप्टेम्बर ३ सम्मको हिसाबअनुसार इरान युद्धमा अमेरिकी रक्षा मन्त्रालयको लागत ४३.६ अर्ब डलर पुगेको थियो। त्यसमा युद्ध सञ्चालनको खर्च, प्रयोग भएका हतियारको पुनःपूर्ति तथा क्षतिग्रस्त वा नष्ट भएका सैन्य उपकरणको प्रतिस्थापन समावेश छ।
यसमा अझ ठूलो लागत भविष्यमा आउन सक्छ।
युद्धका क्रममा क्षतिग्रस्त भएका सैन्य अड्डा पुनर्निर्माण गर्ने कि तिनको पुरानो स्वरूपमै फर्किनुको सट्टा नयाँ स्थानमा सार्ने भन्ने प्रश्न पेन्टागनको अध्ययनमा परेको छ।
मुख्य विकल्पमध्ये एउटा खाडी क्षेत्रमा रहेका पुराना संरचना पुनर्निर्माण गर्नु हो। अर्को विकल्प सैनिक र उपकरणलाई अझ पश्चिमतर्फका स्थानमा सार्नु हो। दुवै अवस्थामा ठूलो खर्च हुन्छ। र, टाढा सार्दा अमेरिकी सैन्य शक्तिको परिचालन दूरी बढ्छ।
शक्तिको भाषण र युद्धको वास्तविकता
अमेरिकी विदेशमन्त्री मार्को रूबियोले अक्टोबर ७ मा ग्रीसको प्राचीन सहर एथेन्सबाट पश्चिमी सभ्यताको पुनरूत्थान र राष्ट्रिय शक्तिको महत्वबारे भाषण गरे।
उनले प्राचीन ग्रीसदेखि रोम, इसाई सभ्यता हुँदै अमेरिकी गणतन्त्रसम्मको पश्चिमी परम्परालाई जोड्दै पश्चिमले आफ्नो शक्ति, आत्मविश्वास र नेतृत्वको क्षमता पुनःस्थापित गर्नुपर्ने तर्क गरे।
तर इरान युद्धले सैन्य शक्तिको अर्को परिभाषा अगाडि ल्याएको छ। सैन्य शक्ति भनेको कति लक्ष्य ध्वस्त पार्न सकिन्छ भन्ने मात्र होइन।
आफ्नो सैन्य शक्ति कहाँ, कति समय र कति खर्चमा परिचालन गर्न सकिन्छ भन्ने पनि हो। अमेरिकासँग इरानभन्दा धेरै ठूलो सैन्य शक्ति छ। उसले हजारौँ किलोमिटर टाढाबाट इरानमाथि प्रहार गर्न सक्छ।
तर अमेरिकी सेनालाई इरानको नजिक सुरक्षित रूपमा राखिरहन पहिलेभन्दा कठिन भएको यही युद्धले देखाएको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)