पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान पोखरा महानगरपालिका-२८ माझठानामा कालिका इङ्लिस बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको थियो।
दुर्घटनामा परी ४ विद्यार्थी र एक स्थानीयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी वीरेन्द्र पासवानले जानकारी दिए।
उनका अनुसार बसमा १९ विद्यार्थी, एक चालक र लिफ्ट मागेर चढेका एक स्थानीय थिए।
लिफ्ट लिएर चढेका तिनै स्थानीयको पनि दुर्घटनामा मृत्यु भएको हो। उनी पोखरा-२८ का ६५ वर्षीय बाबुराम तिवारी रहेको खुलेको डिएसपी पासवानले जानकारी दिए। उनी उपचारका गर्न जाँदै थिए।
मृत्यु हुने विद्यार्थीहरूमा अन्दाजी १२/१३ वर्षकी ममता तिवारी, १३/१४ वर्षीय अशिम कंडेल, नामथर नखुलेको १३/१४ वर्षीया एक बालिका , नामथर नखुलेको १३/१४ वर्षीया एक बालिका छन्।
अन्यलाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइएको डिएसपी पासवानले जानकारी दिए।