बर्दियामा चितुवाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
जिल्लाको राजापुर नगरपालिका–३ चख्खापुरमा चितुवाको आक्रमणमा परी ४८ वर्षीय मंगल थारुको मृत्यु भएको जिल्लाका प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराले बताए।
डिएसपी बोहराका अनुसार बिहीबार राति अबेरसम्म आफ्नो टेलरिङ पसलमा काम गरी उनी राजापुरको तिघ्रास्थित भित्री बाटो हुँदै पैदल घरतर्फ जाँदै थिए।
त्यही क्रममा उनीमाथि चितुवाले आक्रमण गरेको थियो।
‘चाडपर्वको समयमा कामको चाप हुने हुँदा उनी राति अबेर सम्म काम गरी घर तर्फ फर्किने क्रममा चितुवाको आक्रमण परेको भन्ने खुलेको छ,’ डिएसपी बोहराले भने।
रातको साढे १२ बजेतिर गम्भीर घाइते अवस्थाका थारूलाई उद्धार गरी प्रहरीले प्राथमिक स्वास्थ्य केन्द्र राजापुर पुर्याएको थियो।
त्यहाँबाट थारुलाई थप उपचारका लागि शुक्रबार बिहान १ बजेपछि बाँकेको नेपालगन्ज रिफर गरिएको थियो।
बिहान २:४० बजे नेपालगंज नरसिंह होमका चिकित्सकले चेकजाँचपछि उनलाई मृत घोषणा गरेका थिए।
थरुको शव पोस्टमर्टमपछि आफन्तले बुझेर लगेको प्रहरीले जनाएको छ।