पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँगको सम्पर्कका विषयमा अनुसन्धानका क्रममा पक्राउ परेका इनम सापकोटाको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरेको छ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र सुनिलकुमार पोखरेलको इजलासले सापकोटाकी श्रीमती कविता पाण्डेले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंले सापकोटालाई अभद्र व्यवहारको कसुरमा हिरासतमा राखेको छ।
उनलाई सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको थियो।
पूर्वप्रधानन्यायाधीश राणा पक्राउ परेपछि प्रहरीले उनको फोनसमेत जाँच गरेको थियो। त्यसबाट प्राप्त विवरणका आधारमा अनुसन्धान झापाका सापकोटासम्म पुगेको स्रोतले बताएको थियो।
विशेष ब्युरोको टोलीले सापकोटालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। त्यसक्रममा सापकोटा र राणाबीचको सम्बन्ध तथा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहालसँग उनको सम्पर्कबारे पनि अनुसन्धान भएको थियो।
सापकोटाले प्रहरीसँगको सोधपुछमा राणाले आफूलाई प्रयोग गरेको बताएका थिए। सापकोटाको अन्य उच्च तहका व्यक्तिहरूसँगको सम्पर्कबारे पनि अनुसन्धान भइरहेको स्रोतले जनाएको थियो।
सापकोटाकी श्रीमती पाण्डेले उनलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबीसहित बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। सर्वोच्च अदालतले उक्त रिट खारेज गरेको हो।