आम मानिसले जोर्नी दुख्नुलाई ‘बाथ रोग’ भनेर बुझ्ने गरे पनि बाथ रोग जोर्नी दुखाइमा मात्र सीमित नरहेको बाथ रोग विशेषज्ञ डा. सुधिर कर्मचार्यले बताएका छन्।
उनका अनुसार बाथ रोग अटोइम्युन डिजिजअन्तर्गत पर्ने समस्या हो, जसमा शरीरको रोग प्रतिरोधी क्षमताले आफ्नै कोष तथा तन्तुमाथि आक्रमण गर्न थाल्छ।
जोर्नी दुख्नुका विभिन्न कारण हुन सक्ने भएकाले हरेक दुखाइलाई बाथ रोगका रूपमा बुझ्न नहुने उनले बताए। लिगामेन्ट, नसा, हड्डी पलाउने, चोटपटक लगायतका कारणले पनि लामो समयसम्म दुखाइ हुन सक्ने उनको भनाइ छ।
तर बाथ रोगका कारण हुने दुखाइमा केही फरक लक्षण देखिन्छन्। बाथ रोगमा गतिविधि गर्दा दुखाइ कम हुँदै जाने तर आराम गर्दा दुखाइ बढ्ने हुन सक्छ। विशेषगरी रातभर सुतेर बिहान उठ्दा जोर्नी बढी दुख्ने र अररो हुने, दिउँसो केही समय सुतेर उठ्दा पनि शरीर चलाउन गाह्रो हुनेजस्ता समस्या देखिन सक्छन्।
'हलचल गर्दा, काम गर्दा दुखाइ कम हुँदै जाने तर आराम गर्दा दुखाइ बढ्ने हुन्छ। बिहान उठ्दा जोर्नी एकदमै दुख्ने र अररो हुने हुन्छ। यस्तो खालको लक्षण देखिए बाथ रोगको संकेत हुन सक्छ।'उनले भने,'बाथ रोगका सुरुवाती लक्षणमा शरीरमा थकान महसुस हुने, आलस्य बढ्ने तथा हातखुट्टा गल्ने पनि हुन सक्छ। रोगअनुसार छालामा समस्या देखिने, आँखामा असर पर्ने, जोर्नी सुन्निने तथा बिहान उठ्दा शरीर अररो हुनेजस्ता लक्षण पनि देखिन सक्छन्।'
कतिपय बिरामीलाई बिहान उठ्दा मुठी पार्नसमेत गाह्रो हुने र हात चलाउन समस्या हुन्छ। गाउँघरका बिरामीले बिहान उठ्दा कुचोसमेत समाउन नसक्ने गरी हात अररो हुने गुनासो गर्ने गरेको उनको भनाइ छ। बाथ रोगमा शरीरमा उत्पन्न हुने विभिन्न रसायनका कारण जोर्नीभित्रको तरल पदार्थमा परिवर्तन आउँदा जोर्नी चलाउन समस्या हुन सक्ने डा. कर्मचार्यले बताए।
जाडोमा बाथको समस्या किन बढ्छ?
जाडो मौसममा बाथका बिरामीको दुखाइ बढेको गुनासो धेरै आउने गरेको उनले बताए। यसको एउटा कारण जाडोमा शारीरिक गतिविधि कम हुनु रहेको उनको भनाइ छ। गर्मीमा बिहानै उठेर काम गर्ने गरे पनि जाडोमा मानिसको सक्रियता घट्ने भएकाले समस्या बढ्न सक्ने उनले बताए।
त्यस्तै, जाडोमा दुखाइ महसुस गर्ने नसाहरू बढी संवेदनशील हुने भएकाले पनि दुखाइ बढी महसुस हुन सक्छ।
'जाडोमा हाम्रो सक्रियता कम हुन्छ। त्यस्तै दुखाइ महसुस गर्ने नसाहरू पनि बढी सक्रिय हुन्छन्। त्यसैले जाडोमा बाथका बिरामीलाई समस्या अलि बढी हुने गर्छ,' उनले भने।
झारफुक र नाम नखुलेका औषधिबाट सावधान
बाथ रोगको उपचार हुन्छ कि हुँदैन भन्ने विषयमा अझै पनि धेरै भ्रम रहेको डा. कर्मचार्यले बताए।
अस्पताल आउनुअघि धेरै बिरामीले घरायसी उपचार, झारफुक, जडिबुटी तथा नाम नखुलेका औषधि प्रयोग गर्ने गरेका छन्।
'हामीकहाँ आउने १० जनामध्ये आठ जना बिरामीले विभिन्न किसिमका झारफुक, जडिबुटी वा अन्य उपचार गरेर आएको पाउँछौँ,' उनले भने, 'नाम नखुलेका औषधिको प्रयोगका कारण कतिपय बिरामीको मिर्गौला र कलेजोमा समेत समस्या देखिन्छ।'
आयुर्वेदिक चिकित्सकले सिफारिस गरेका औषधि भने चिकित्सकीय सल्लाहअनुसार प्रयोग गर्न सकिने उनको तर्क छ।
सबै बाथ रोगमा जीवनभर औषधि खानुपर्दैन
बाथ रोग लागेपछि जीवनभर औषधि खानुपर्छ भन्ने धारणा पनि पूर्ण रूपमा सही नभएको डा. कर्मचार्यको भनाइ छ। केही प्रकारका बाथ रोगमा लामो समय वा जीवनभर औषधि आवश्यक पर्न सक्ने भए पनि सबै बिरामीले जीवनभर औषधि खानुपर्ने हुँदैन।
युरिक एसिडसँग सम्बन्धित समस्यामा अन्य रोगको जोखिम कम गर्न लामो समय औषधि खानुपर्ने हुन सक्छ। त्यस्तै, लुपसजस्ता केही बाथ रोगमा पनि लामो समयसम्म औषधि आवश्यक पर्न सक्छ।
बाथ रोगको उपचारमा तत्काल दुखाइ कम गर्ने औषधिसँगै रोगलाई नियन्त्रण गर्ने औषधि प्रयोग गरिन्छ। केही बाथ रोग पूर्ण रूपमा निको हुनेभन्दा नियन्त्रणमा राख्ने उद्देश्यले उपचार गरिन्छ।
'बाथसँग सम्बन्धित रोगहरू दुई सयभन्दा धेरै किसिमका छन्। सबै बाथ रोग एउटै हुँदैनन् र उपचार पनि बिरामीको अवस्था तथा रोगको प्रकृतिअनुसार फरक हुन्छ,' उनले भने, 'धेरै देखिने बाथ रोगमा गठिया बाथ, युरिक एसिड र लुपस लगायत रहेका छन्। गठिया बाथ महिलामा बढी देखिने र युरिक एसिडसम्बन्धी समस्या पुरूषमा बढी देखिने उनको भनाइ छ।
बालबालिकामा पनि बाथ रोग हुन सक्ने उनको भनाइ छ।
लुपस विशेषगरी महिलामा देखिने बाथ रोग हो। यसले शरीरका विभिन्न अंगमा असर गर्न सक्ने भएकाले यसका लक्षणलाई सामान्य रूपमा लिन नहुने उनले बताए।
संक्रमणदेखि वंशानुगत कारणसम्म
बाथ रोग देखिनुका विभिन्न कारण भए पनि कतिपय अवस्थामा यसको स्पष्ट कारण पत्ता नलाग्ने डा. कर्मचार्यले बताए।
संक्रमण, हर्मोनमा हुने परिवर्तन, धूमपान, विषाक्त खाना तथा वंशाणुगत कारणले पनि बाथ रोगको जोखिम बढ्न सक्छ।
'भाइरल इन्फेक्सन, निमोनिया तथा टिबीजस्ता संक्रमणपछि शरीरले रोगसँग लड्न बनाउने प्रतिरोधी प्रतिक्रियाका कारण पनि बाथ रोग उत्पन्न हुन सक्छ। महिलामा हर्मोनको उतारचढावका कारण पनि बाथ रोग देखिन सक्ने उनको भनाइ छ,' उनले भने, 'बाथ रोग सामान्यतया उमेर बढ्दै गएपछि देखिने भए पनि निश्चित उमेरमा मात्र हुन्छ भन्ने छैन।'
एकभन्दा बढी अंगमा समस्या देखिए बाथ रोगको शंका
बाथ रोगको पहिचान केवल जोर्नी दुखाइका आधारमा गर्न नहुने डा. कर्मचार्य बताउँछन्। शरीरका विभिन्न अंगमा एकैपटक समस्या देखिएमा बाथ रोगको सम्भावनालाई पनि ध्यान दिनुपर्छ।
उनले एक बिरामीको उदाहरण दिँदै सुरूमा छालामा डाबर देखिएको, त्यसपछि कपाल झर्न थालेको र पछि आँखामा समस्या देखिएको बताए। क्रमशः जोर्नीमा समेत समस्या देखिएपछि परीक्षण गर्दा ती बिरामीमा लुपस पुष्टि भएको उनले बताए।
'एउटा रोग लागेको छ भने त्यही अंगमा मात्र समस्या देखिन सक्छ। तर एकैपटक धेरै अंगमा समस्या देखिएको छ भने बाथ रोग हो कि भनेर बुझ्न जरूरी हुन्छ,' उनले भने।
बाथ रोगका कारण प्रजननसम्बन्धी समस्या पनि देखिन सक्ने उनले बताए।
खानपानबारे पनि भ्रम
बाथ रोग लागेपछि धेरै खानेकुरा बार्नुपर्छ भन्ने धारणा पनि रहेको उनको अनुभव छ।
'बाथ रोग सामान्य रूपमा खानाकै कारण हुने रोग होइन। यद्यपि युरिक एसिड सम्बन्धी बाथमा खानपानमा विशेष ध्यान दिनुपर्छ,' उनले भने, 'चिनीजन्य खाना, भित्री अंगको मासु, मुटु, कलेजो, फोक्सो तथा रातो मासु र केही पेय पदार्थबाट टाढा रहनुपर्छ। कतिपय बिरामीले कुनै अमिलो वा चिसो खाना खाएपछि दुखाइ बढेको बताउने गरे पनि त्यसकै कारण बाथ रोग हुने भन्ने हुँदैन।'
आफूलाई कुनै विशेष खानाले समस्या बढाएको महसुस भए त्यस्तो खाना नखान सकिन्छ।
नेपालमै अहिले बाथ रोगको परीक्षण र उपचार सम्भव रहेको डा. कर्मचार्यले बताए।
रोगको प्रकार र बिरामीको अवस्थाअनुसार विभिन्न किसिमका औषधि प्रयोग हुने भएकाले लक्षण देखिएमा परीक्षण गरी चिकित्सकीय सल्लाहअनुसार उपचार गर्नुपर्ने उनको भनाइ छ।