नेपालमै उत्पादित कार–टी (CAR-T) कोषिका प्रयोग गरी पहिलो बिरामीको उपचार गरिएको छ।
सेन्टर फर रिजेनेरेटिभ मेडिसिन (सिआरएम) नेपालका अनुसार यही सेप्टेम्बर २७ मा काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा बिरामीलाई कार–टी कोषिका दिइएको हो।
एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया (एएलएल) को उपचार गराइरहेका बिरामीको अवस्था अहिले चिकित्सकीय रूपमा स्थिर रहेको र स्वास्थ्यमा सुधार भइरहेको सिआरएम नेपालले जनाएको छ।
यो उपचारले नेपालमा उन्नत क्यान्सर उपचार प्रविधि विकास गर्ने दिशामा महत्त्वपूर्ण उपलब्धि हासिल भएको सिआरएम नेपाल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको दाबी छ।
उपचारमा संलग्न चिकित्सक डा. अञ्जन श्रेष्ठ र डा. प्रशुन उपाध्यायका अनुसार यसले कार–टी उपचारका लागि भारत र चीनजस्ता देशमा निर्भर रहनुपर्ने अवस्था घटाउन सहयोग गर्न सक्छ।
एएलएलका बिरामीमा रोग पुनः बल्झिने वा उपचारप्रति प्रतिरोध विकास हुने समस्या देखिन सक्ने भएकाले यस्तो उपचार महत्त्वपूर्ण हुन सक्ने उपचारको नेतृत्व समेत गरेका डा. श्रेष्ठको भनाइ छ।
अमेरिका र बेलायतमा करिब एक दशकदेखि प्रयोग हुँदै आएको कार–टी उपचार नेपालजस्तो देशमा यति छिट्टै उपलब्ध हुनु अपेक्षाभन्दा अगाडिको उपलब्धि भएको पनि उनले बताएका छन्।
कार–टी उपचारमा बिरामीकै प्रतिरक्षा प्रणालीका टी कोषिकालाई परिमार्जन गरेर क्यान्सर कोषिका पहिचान गरी आक्रमण गर्न सक्षम बनाइन्छ।
यस उपचारमा प्रयोग गरिएको कार–टी कोषिकाले सिडी१९ (CD19) नामक लक्ष्य पहिचान गर्ने बताइएको छ।
अर्का चिकित्सक डा. सञ्जीवन गौतमका अनुसार उपचारपछि बिरामीको रगतमा कार–टी कोषिकाको विस्तार देखिएको छ। उपचारको प्रारम्भिक प्रतिक्रिया उत्साहजनक रहेको र चिकित्सकीय लाभका सम्भावनायुक्त संकेत देखिएको उनको भनाइ छ।
यद्यपि, यी प्रारम्भिक संकेतलाई उपचार पूर्ण रूपमा सफल भएको वा बिरामी निको भएको निष्कर्षका रूपमा लिन मिल्दैन।
सिआरएम नेपालका अनुसार कार–टी उपचारसम्बन्धी अनुसन्धान तथा विकासको काम सन् २०२२ देखि २०२४ सम्म गरिएको थियो।
सन् २०२५ मा उत्पादन केन्द्रले स्वीकृति प्राप्त गर्नुका साथै आवश्यक तालिमसम्बन्धी काम अघि बढाइएको थियो। सन् २०२६ मा कार–टी कोषिकाको क्लिनिकल प्रयोगका लागि स्वीकृति प्राप्त भएको संस्थाले जनाएको छ।
यस प्रक्रियामा डिकोड (DECODE) जिनोमिक्सले कोषिकाको गुणस्तर परीक्षण तथा विश्लेषण गर्ने क्षमता विकास गर्न सहयोग गरेको सीआरएम नेपालको भनाइ छ। संस्थाका अनुसार, उपचारमा प्रयोग गरिएका कोषिकाले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेका छन्।
यस काममा डा. ओम कुर्मी, डा. सुधांशु केसी, बलराम गौतम, लुका गाटिनोनी, प्राध्यापक लियो हान्समन, डा. दिलीप शर्मा र बेदानन्द पराजुली लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले योगदान गरेको जनाइएको छ।
लिंकन युनिभर्सिटीका प्रोफेसर डा. कुर्मीले शैक्षिक रणनीति तथा आउटरिच सम्बन्धी काममा मार्गदर्शन गरेका थिए। उनले नेपालको स्वास्थ्य सेवा तथा शैक्षिक प्रणालीमा उन्नत उपचार विधि समावेश गर्ने तथा बायोलोजिक्स रिसर्च र औषधि विकासलाई प्रोत्साहन गर्ने महत्त्वमा जोड दिएका छन्।
डा. सुधांशु केसीले सिआरएम नेपालका क्लिनिकल पार्टनरसिप्स सुदृढ बनाउन काम गरेका छन्। उनका अनुसार, विदेशमा उपचार गराउन आर्थिक वा व्यावहारिक कठिनाइ भोग्ने बिरामीसम्म उन्नत उपचारको पहुँच पुर्याउनु संस्थाको दीर्घकालीन लक्ष्य हो।
राष्ट्रिय सहकार्य तथा दैनिक सञ्चालनको समन्वय गरेका जेनेटिसिस्ट बलराम गौतमले सिआरएम नेपालले थप बिरामीसम्म पुग्न स्थानीय क्षमता विस्तार गर्ने योजना बनाएको बताए।
यसैगरी, लाइबनिज इन्स्टिच्युट अफ इम्युनोथेरापीमा सेलुलर थेरापीका अग्रणी विज्ञ लुका गाटिनोनी र रेगेन्सबर्ग युनिभर्सिटी मेडिकल सेन्टरका प्रोफेसर लियो हान्समानले क्लिनिकल म्यानेजमेन्टसम्बन्धी सुझाव दिएका थिए।
डा. दिलीप शर्माले रेगुलेटरी एक्सपर्टिज प्रदान गरेका थिए भने बेदानन्द पराजुलीले कोषिका उत्पादनदेखि इन्फ्युजनसम्मका प्रक्रियामा लजिस्टिक्स समन्वय गरेका थिए।
नेपालमै कार–टी कोषिका उत्पादन गरी बिरामीको उपचारमा प्रयोग गरिएको यो उपलब्धिले देशभित्रै उन्नत क्यान्सर उपचारको सम्भावना बढाएको सिआरएम नेपालको दाबी छ।
संस्थाले नेपाल तथा विदेशका बिरामीलाई समेत यस्तो उपचार उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।