मध्य अमेरिकी देश पनामामा शक्तिशाली भूकम्प गएको छ।
स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ बजे पितालोजा सहर आसपास केन्द्रबिन्दु बनाएर ७.७ म्याग्निच्युडको भूकम्प गएको हो।
लगत्तै ६.६ म्याग्निच्यूडको अर्को पराकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस)ले जनाएको छ।
भूकम्पबाट ठुल्ठूला भवनहरू ढलेका छन्।
लगातार परकम्प गएपछि देशभरका विभिन्न स्थानमा मानिसहरूलाई भवनबाट बाहिर निकालिएको छ।
भूकम्पबाट मानवीय क्षतिको विवरण भने सार्वजनिक भइनसकेको अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ।
युएसजिएसका अनुसार पहिलो धक्का पनामाको मध्य भागमा पर्ने हेरेरा प्रान्तको पितालोसा अरिबा बस्तीबाट करिब १० किलोमिटर दक्षिणपश्चिममा केन्द्रित थियो।
१० किलोमिटर गहिराइमा गएको भूकम्पको धक्का छिमेकी देश कोलम्बियासम्म महसुस गरिएको थियो।
यूएसजिएसले सुरुमा यसको तीव्रता ८ म्याग्निच्युड उल्लेख गरे पनि पछि संशोधन गर्दै ७.६ र त्यसपछि ७.७ म्याग्निच्युड कायम गरेको थियो।
भूकम्पपछि राजधानी पानामा सिटीमा मानिसहरू घर तथा कार्यालयबाट बाहिर निस्केर खुला ठाउँमा जम्मा भएका थिए। हेरेरा प्रान्तका ६० वर्षीय रोसेन्डो डोमिन्गेजले आफूहरूले भूकम्पको तीव्र धक्का महसुस गरेको बताएका छन्।
‘हामीले निकै जोडले धक्का महसुस गर्यौँ। भान्छाका सामानहरू खसे, तर हामी सुरक्षित छौँ। यद्यपि निकै डराएका छौँ,’ उनले एपीसँग भने, ‘सबै जना डराएर बाहिर निस्किएका छन्।’
पहिलो भूकम्पपछि पनि लगातार परकम्प गइरहेका थिए।
पानामा विश्वविद्यालयका भूकम्पविद्हरूले ४५ भन्दा बढी परकम्प अभिलेख गरेका छन्। तीमध्ये केहीको तीव्रता ५.८, ५.५ र ५.२ म्याग्निच्युड थियो।
राष्ट्रपति होसे राउल मुलिनोले शुक्रबार साँझसम्म भूकम्पबाट कसैको मृत्यु भएको आधिकारिक विवरण प्राप्त नभएको बताएका छन्।
यद्यपि आगामी घण्टा वा दिनमा क्षतिको विवरण परिवर्तन हुन सक्ने उनले बताएका छन्।
‘यस्तो विपत्तिका लागि कोही पनि तयार थिएन, र यस्तो विपत्तिका लागि कोही पनि कहिल्यै पूर्ण रूपमा तयार हुँदैन,’ उनले भनेका छन्। उनले सर्वसाधारणलाई शान्त रहन पनि आग्रह गरेका छन्।
राष्ट्रिय नागरिक सुरक्षा सेवाका अधिकारी ओमार स्मिथका अनुसार भूकम्पबाट सबैभन्दा बढी क्षति भेराग्वास, हेरेरा र लोस सान्तोस प्रान्तमा भएको छ।
राजधानी पानामा सिटीमा भने भौतिक क्षतिको विवरण प्राप्त नभएको उनले बताएका छन्।
राजधानीबाट करिब १५० किलोमिटर टाढा पर्ने पेनोनोमे सहरमा आंशिक रूपमा भत्किएको संरचनाबाट खसेको भग्नावशेष लागेर एक जना घाइते भएका छन्।
त्यहाँको मुख्य चोकमा रहेको चर्चमा आंशिक क्षति पुगेको छ भने भवनमा चिरा परेको छ। गभर्नरको कार्यालय र दोस कोन्टिनेन्टेस होटलमा पनि क्षति पुगेको अधिकारीहरूले बताएका छन्।
लोस सान्तोस प्रान्तमा रहेको ऐतिहासिक सान अतानासियो गिर्जाघर पूर्ण रूपमा भत्किएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
सन् १९३८ मा उक्त चर्चलाई राष्ट्रिय ऐतिहासिक सम्पदा घोषणा गरिएको थियो। भेराग्वास प्रान्तलगायतका स्थानमा सडकमा ठूला चिरा परेको विवरण पनि सार्वजनिक भएका छन्।
भूकम्पपछि राजधानीस्थित तोकुमेन अन्तर्राष्ट्रिय विमानस्थलले केही समय उडान सञ्चालन रोकेको थियो।
तर शुक्रबार दिउँसोदेखि पुनः सञ्चालनमा आएको विमानस्थलले जनाएको छ। विश्व व्यापारका लागि महत्त्वपूर्ण पानामा नहरको सञ्चालन भने सामान्य रहेको नहर प्राधिकरणले जनाएको छ।
प्राधिकरणले सम्भावित क्षति पत्ता लगाउन संरचनाहरूको प्राविधिक निरीक्षण गरिरहेको बताएको छ।
भूकम्पपछि पानामा, कोलम्बिया, इक्वेडर, निकारागुवा र ग्वाटेमालाका तटीय क्षेत्रमा जारी सुनामी चेतावनी हटाइएको छ।
एल साल्भाडोर र चिलीले इस्टर आइल्यान्डका लागि जारी गरेका चेतावनी पनि हटाइएको छ।
पानामा विश्वविद्यालयको भूविज्ञान संस्थानका निर्देशक नेस्तोर लुकेका अनुसार लोस सान्तोस प्रान्तको दक्षिणी तटीय क्षेत्रमा समुद्री छाल तीनदेखि १० फिटसम्म अग्लो हुन सक्ने अनुमान गरिएको थियो।
उनका अनुसार इस्ला कान्यासका तटीय घरहरू नजिक समुद्रको पानीसमेत पुगिसकेको थियो।
प्रशान्त महासागर वरिपरि फैलिएको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने पानामा भूकम्पीय जोखिमयुक्त देश हो। कोकोस, नाज्का र क्यारिबियन प्लेटको अन्तरक्रियाका कारण विशेषगरी कोस्टारिकासँगको सीमा र प्रशान्त तटीय क्षेत्रमा भूकम्प जाने गर्छ।
पनामामा यसअघि सन् १९९१ मा पनि शक्तिशाली भूकम्पले ठूलो क्षति पुर्याएको थियो। छिमेकी कोस्टारिकामा केन्द्रित ७.४ म्याग्निच्युडको उक्त भूकम्पमा २३ जनाको मृत्यु भएको थियो भने ५५९ जना घाइते भएका थिए।
शुक्रबारको भूकम्पपछि विभिन्न देशले पनामाप्रति ऐक्यबद्धता जनाउँदै सहयोगको प्रस्ताव गरेका छन्।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनामाको अवस्थालाई नजिकबाट नियालिरहेको र त्यहाँको सरकारको अनुरोधमा सहयोगका लागि स्रोतसाधन तथा कर्मचारी परिचालन गरिरहेको बताएका छन्।
कोलम्बिया, चिली, उरुग्वे, ग्वाटेमाला, कोस्टारिका, इक्वेडर र पेरुले पनि सहयोगको प्रस्ताव गरेका छन्।