सुर्खेतमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक पैदलयात्रीको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ।
दुर्घटनामा मृतककी श्रीमती र मोटरसाइकल चालक घाइते भएका छन्।
मृत्यु हुनेमा दैलेखको भैरवी गाउँपालिका घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदेमा बस्दै आएका ३७ वर्षीय विवेक थापा छन्।
थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा शुक्रबार राति पौने १० बजेतिर उनको मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ।
दुर्घटनामा थापाकी २९ वर्षीया श्रीमती सुनिता थापा र मोटरसाइकल चालक वीरेन्द्रनगर–१० का २२ वर्षीय दिपेश चौधरी घाइते भएका छन्।
सुनिताको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ भने चौधरीको अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ।
दुवैको अवस्था मध्यम छ।
शुक्रबार साँझ करिब ७ बजे वीरेन्द्रनगर–१० स्थित घुस्रा रोडमा घुस्राबाट तीनकुने चोकतर्फ जाँदै गरेको लु ७२ प २००९ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका थापा दम्पतीलाई ठक्कर दिएको थियो।
दुर्घटनामा घाइते भएका तीनै जनालाई प्रहरीले उद्धार गरी कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्याएको थियो।
त्यहाँ उपचारपछि थप उपचारका लागि राति करिब ९ बजे उनीहरूलाई नेपालगन्ज रिफर गरिएको थियो।
नेपालगन्ज लैजाँदै गर्दा विवेकको बाटोमै मृत्यु भएको हो। उनको शव राति ११ बजेपछि कर्णाली प्रदेश अस्पताल कालागाउँ ल्याइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।