हरेक वर्ष वर्षायाममा आकाशमा गड्याङगुडुङ हुनासाथ बुटवलवासीलाई ज्योति नगर पहिरोको चिन्ता हुन्छ। बुटवल बजारदेखि उत्तरपूर्वी क्षेत्रमा खलबलिएको चुरे पहाडको पहिरोले गोलपार्क, ज्योति नगर र लक्ष्मी नगर क्षेत्रका सयौं घरलाई जोखिममा पारेको छ।
पहिलो पटक २०५५ सालमा र पछिल्लो पटक २०७८ सालमा झरेको पहिरोले ६ दर्जनभन्दा बढी घरमा पूर्ण क्षति पुर्याएको थियो।
कैयौं घरमा ढुंगासहितको लेदो पसेर क्षति पुर्याएको थियो। बुटवलको शिर मानिने ज्योति नगर र लक्ष्मी नगर क्षेत्रको बाक्लो बस्ती नै जोखिममा पार्ने गरी पहिरो झर्न थालेपछि त्यसको नियन्त्रणका लागि विभिन्न प्रयास पनि गरिएका छन्।
पहिरो नियन्त्रण, रोकथाम र पुनर्निर्माणका लागि राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम, बुटवल उपमहानगरपालिका, लुम्बिनी प्रदेश सरकार र संघीय सरकारबाट करोडौं रूपैयाँ लगानी भइसकेको छ। संघीय सरकारबाट आर्थिक वर्ष २०७९/८० देखि २०८२/८३ सम्म पाँच करोडभन्दा बढी बजेट पहिरो नियन्त्रण र रोकथामका लागि लगानी भइसकेको छ।
पहिरो नियन्त्रणका लागि चेक ड्याम, रिटेनिङ वाल, ग्याबियन जाली र बक्स कल्भर्ट निर्माण गरिएका छन्। लुम्बिनी प्रदेश सरकारले पनि सिँचाइ डिभिजन कार्यालयमार्फत करिब एक करोड रूपैयाँ खर्च गरिसकेको छ।
हालसम्म बुटवल उपमहानगरपालिकाले झन्डै चार करोड रूपैयाँ पहिरो नियन्त्रणमा लगाएको छ भने राष्ट्रपति चुरे संरक्षण कोषबाट एक अर्ब रूपैयाँ लागतको डिपिआर तयार गरी २५ लाख रूपैयाँ बराबरको काम सम्पन्न भइसकेको छ। कोषमार्फत गत वर्ष २५ करोड रूपैयाँ विनियोजन गरिए पनि जेनजी आन्दोलनपछि भएको सरकार परिवर्तनका कारण बजेट कार्यान्वयन हुन सकेन।
विभिन्न सरकारी तहबाट १० करोड रूपैयाँ हाराहारी खर्च भइसकेको ज्योति नगर पहिरोको जोखिम टरेको हो?

यही प्रश्न हामीले भूगर्भविद डा. रञ्जन दाहाललाई सोध्यौं।
उनले भने, 'होइन, अहिलेसम्म जति लगानी गरेको भए पनि पहिरोको जोखिम यथावत छ। अझै पनि पहिरोको विषयमा तीनै तहका सरकार गम्भीर नहुने हो भने भोलिका दिनमा त्यसले विकराल समस्या ल्याउन सक्छ।'
ज्योति नगर पहिरो अध्ययन गरेका डा. दाहाल नियन्त्रणका लागि अहिलेसम्म गलत काम भएको बताउँछन्।
'म इन्जिनियर भूगर्भविद भएको नाताले धेरै पहिलेदेखि नै यसको अध्ययन गरिरहेको छु। ज्योति नगरको जमिनभित्र पानी भरिएर पिलो जस्तै भएर बसेको छ। जुनसुकै बेला पनि पहिरो झर्ने जोखिम छ,' दाहालले भने।
पछिल्लो पटक उनले २०७८ सालमा पहिरोको स्थलगत अध्ययन गरेका थिए।
उनका अनुसार ज्योति नगर र लक्ष्मी नगरमाथि रहेको डाँडामा धाँजा फाटेर पोखरी बनेका छन्। तिनै पोखरी र धाँजा फाटेका क्षेत्रबाट वर्षायाममा जमिनभित्र पानी पस्छ। यसरी बगिरहेको पानीको सही व्यवस्थापन नगरेसम्म ज्योति नगर र लक्ष्मी नगर क्षेत्र पहिरोको अति जोखिममा छ।
ज्योति नगर पहाडको भित्री चट्टानलाई बाहिरको ढुंगामाटोले छोडेर जमिन तलतिर चिप्लिरहेको छ। पहिरो चिप्लिन नदिन वैज्ञानिक ढंगले काम गर्नुपर्ने उनको सुझाव छ।
दाहाल सहितको अध्ययन टोलीले ज्योति नगरमाथिको डाँडामा भूमिगत पानी रहेको र सतहमा बगेका मूलहरू समेत अव्यवस्थित ढंगले जताततै बगेका कारण पहिरो झरेको निष्कर्ष निकालेको थियो। सो क्षेत्रमा आधा दर्जनजति पानीका मूल छन्। हिउँदमा समेत पहाडभित्र पानीको सतह हुने र वर्षाको पानी एकत्रित नभई जताततैबाट बग्ने भएकाले पहिरो झरिरहेको हो।
कुनै पनि भिरालो जमिनमा सतही पानी र भूमिगत पानीको सही व्यवस्थापन नगरे त्यस्तो जमिन असन्तुलित हुन पुग्छ। ज्योति नगरको पहिरो रोकथाम गर्ने पहिलो उपाय पनि सतही पानी र भूमिगत पानीको सही व्यवस्थापन नै भएको उनले बताए।
जमिनभित्र थलथलिएर बसेको पानी विभिन्न ठाउँमा ३०/४० मिटर भित्रसम्म पाइप छिराएर बाहिर निकाल्नुपर्छ। पहिरो बगेको ठाउँमा साना साना रिटेनिङ वाल र चेक ड्याम बनाएर माटो रोक्न सकिन्छ। माथिल्लो भागमा, जहाँ पानी भित्र छिरिरहेको छ, त्यहाँ पानी नछिर्ने गरी नाला काटेर पानी एकत्रित गरी तलतिर पठाउन सकिने उनको भनाइ छ।
'यही प्रक्रियाबाट विभिन्न क्षेत्रमा सडक विभाग अन्तर्गत पहिरो नियन्त्रणका काम भइरहेका छन्। तर पहिरो नियन्त्रणका लागि भन्दै सामान्य पहिरोको ज्ञानसमेत नभएका व्यक्तिबाट ज्योति नगरमा काम भइरहेको छ,' उनले भने, 'त्यहाँको पहिरोमा अति धेरै राजनीतिक चलखेल छ। स्थानीय स्तरमा पनि आ-आफ्ना स्वार्थअनुरूप काम भइरहेका छन्। जसलाई जे मन लाग्यो, त्यही काम गरेर ज्योति नगरको पहिरो रोकथाम हुँदैन।'
उनले थपे, 'मैले विद्यार्थीहरूलाई पहिरो इन्जिनियरिङमा गलत काम कस्तो हुन्छ भनेर उदाहरण दिँदा ज्योति नगरमा भएको काम देखाउँछु। पानी जमेर भित्रको जमिन थलथलिएर बसेको छ। माथि धाँजा फाटेर जमिन तलतिर बगिरहेको छ। त्यस्तो ठाउँमा माथिल्लो भागबाट पानी अन्यत्र तर्काएर कहाँ पुर्याउने? पहिरोले जमिन तलतिर बगाउँदै गर्दा त्यहाँ बनेका पोखरी पनि तलतिर खस्किँदै जान्छन् भन्ने बुझ्नुपर्छ।'

पहाडै बगिरहेको स्थानमा ग्याबियन जालीमा ढुंगा भरेर ठूला ठूला पर्खाल लगाउँदैमा पहिरो रोकिन्छ भन्नु सबभन्दा हास्यास्पद भएको दाहाल बताउँछन्।
एक सालको वर्षा सकियो भनेर आराम गरेर बस्ने नभई उपयुक्त विज्ञहरूको सुझावका आधारमा कात्तिक–मंसिरदेखि नै पहिरो नियन्त्रणको काम सुरू गर्नुपर्छ। विज्ञहरूको सुझावका आधारमा वैज्ञानिक तरिकाले काम गर्ने हो भने दीर्घकालीन रूपमा पहिरो नियन्त्रण गर्न सकिने उनी दाबी गर्छन्।
स्थलगत अध्ययन गरेर कुन ठाउँमा कस्ता समस्या छन् भन्ने पत्ता लगाएर, त्यसकै आधारमा रोकथामका काम गर्नुपर्छ।
'अहिलेसम्म जे-जति गलत काम भए, त्यो सुधारौं। कात्तिकदेखि नै पहिरो नियन्त्रणका लागि काम अगाडि बढाऔं,' दाहालले भने।
बुटवल उपमहानगरपालिका वडा नम्बर ३ मा पर्ने ज्योति नगर क्षेत्रको माथिल्लो भागमा मात्रै करिब ७० हेक्टर क्षेत्रमा पहिरो गएको छ। यो भीमकाय पहिरोका कारण श्रवण डाँडाको माथिल्लो भाग नै सिधै बुटवल बजारतर्फ सोझिएको छ।
आकाशमा कालो बादल मडारिन थालेपछि ज्योति नगर र लक्ष्मी नगरका बासिन्दामा उत्पन्न हुने त्रास अहिले पनि उस्तै छ। यस वर्षको मुख्य वर्षायाम सकिए पनि त्यहाँका बासिन्दालाई जुनसुकै याममा पानी पर्दा वा हिउँदमा समेत सुक्खा पहिरो झर्ने हो कि भन्ने चिन्ताले छाडेको छैन।
विज्ञहरूका अनुसार ज्योति नगर क्षेत्रको पहाड चुरे पर्वत शृंखलाको तल्लो शिवालिक ग्रुपअन्तर्गत पाइने मडस्टोन, स्यान्डस्टोन र चट्टानले बनेको छ। यो भित्री चट्टानको माथिल्लो पत्रमा चिम्ट्याइलो माटो, सिल्ट र केही बालुवा मिसिएर बनेको छ। यस्तो जमिनमा वर्षाको पानी सजिलै भित्र छिरेर बग्न सक्छ।
त्यस्तै, बुटवल उपमहानगरपालिकाले जोखिम संवेदनशील भूउपयोग योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्ने र पहिरो नियन्त्रणका उपाय कार्यान्वयन नगरेसम्म जोखिम क्षेत्रमा घर निर्माणका लागि स्वीकृति दिन नहुने दाहालको सुझाव छ।
पहिरो नियन्त्रणका लागि अल्पकालीन समाधान मात्र खोज्दा बुटवल चुरे पहिरोको जोखिमबाट मुक्त हुन सकेको छैन। ज्योति नगर र लक्ष्मी नगरका बस्ती मात्र होइन, सिंगो बुटवल सहर नै चुरे पहिरोको जोखिममा छ।
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास कार्यक्रम अन्तर्गत पहिरो नियन्त्रणका लागि ज्योति नगर बस्तीदेखि माथि पर्खाल लगाइएका छन्। तर ती निर्माणका काम त्रुटिपूर्ण रहेको दाहाल बताउँछन्।
माथिल्लो भागमा बनाइएको ग्याबियन पर्खाल गलत तरिकाले निर्माण गरिएको छ। पहिले भित्रको पानी निकालेर मात्रै पूर्वाधार तथा संरचना निर्माणको काम गर्नुपर्ने उनको भनाइ छ।
'पहिरोलाई सामान्य ठानेर सामान्य अध्ययन र अनुसन्धानबिनै अनावश्यक ढंगले गिजोल्ने काम गरियो। पहिरो कहाँबाट र कसरी झरेको छ, त्यसको नियन्त्रणका लागि सुरूमा के काम गर्नुपर्ने हो भन्ने हामीले अध्ययन गर्नुपर्थ्यो, गर्नुपर्छ। सामान्य ठान्दा अझ ठूलो दुर्घटना निम्त्याउन सक्छ,' उनले भने।
बुटवल उपमहानगरपालिका वन, वातावरण तथा विपद व्यवस्थापन शाखाका प्रमुख योगेश चापागाईँ पनि ज्योति नगरको माथिल्लो भागमा जमिन केही तलतिर बगेको देखिएको बताउँछन्। तर पछिल्ला चार वर्षयता बस्तीलाई नै समस्या पार्ने गरी पहिरो जान रोकिएको उनले बताए।
'पानी पर्दा लेदोसहितको भल झर्नु सामान्य भयो। तर पछिल्ला चार वर्षयता पहिरोले दुःख दिएको छैन। जोखिम भने यथावत छ,' उनले भने।
बुटवल उपमहानगरपालिकासँगै प्रदेश र संघीय सरकार तथा राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रममार्फत पर्खाल लगाउने, पानीको मुहान तर्काउने र खोल्सा व्यवस्थापन लगायत काम भइरहेको उनले बताए।
'हालसम्म सबै क्षेत्रबाट गरी पहिरो नियन्त्रणका लागि १० करोड रूपैयाँ हाराहारी बजेट खर्च भइसकेको छ। गत वर्ष राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रममार्फत २५ करोड रूपैयाँ विनियोजन गरिए पनि काम हुन सकेन। त्यो कार्यान्वयन भएको भए धेरै समस्या समाधान हुन सक्थ्यो,' उनले भने।
उक्त कार्यक्रममार्फत यस वर्ष पनि ९५ लाख रूपैयाँ विनियोजन गरिएको छ। त्यस्तै लुम्बिनी प्रदेश सरकारले भूसंरक्षण कार्यालय पाल्पामार्फत ७५ लाख रूपैयाँ छुट्ट्याएको छ। बुटवल उपमहानगरपालिकाले विपद व्यवस्थापनका लागि करिब डेढ करोड रूपैयाँ विनियोजन गरेको उनले जानकारी दिए।
ज्योति नगर क्षेत्र धेरै पहिल्यै पहिरो प्रभावित क्षेत्रका रूपमा पहिचान भएको जोखिमपूर्ण ठाउँ हो।
२०५५ सालमा पहिरो झर्दा २१ घर पुरिएका थिए भने ५७ घर प्रभावित बनेका थिए। पहिरोमा घर पुरिएका र प्रभावित परिवारलाई बुटवलको तामनगर क्षेत्रमा जग्गा उपलब्ध गराएर स्थानान्तरण गरिएको थियो।
सरकारले तामनगरमा स्थानान्तरण गरे पनि यहाँको जग्गाको लगत कट्टा नगरी स्थानीयवासीको नाममै राखियो। दिन बित्दै गएपछि पहिरोले बस्ती नै बगाएको कुरा बिर्सिइयो।
पहिरोको जोखिम यथावत हुँदा पनि जग्गाको किनबेच भएर बस्ती बसेसँगै पहिरोको समस्या फेरि बल्झिएको हो।