साउदी अरबको राजधानी रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ।
आक्रमणमा परी कम्तिमा ३०९ जना घाइते भएको साउदीको नागरिक उड्डयन प्राधिकरणलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
मृत्यु हुनेहरूमा ४ जना साउदी नागरिक, बंगलादेशका दुई र अमेरिका, जोर्डन, प्यालेस्टाइन, सिरिया, सुडान तथा इजिप्टका एक–एक जना नागरिक रहेको प्राधिकरणले जनाएको छ।
इरान समर्थित हुथी विद्रोहीले तेस्रोपटक विमानस्थलमा आक्रमण गरेका हुन्।
यो हमलालाई पछिल्लो एक दशकभन्दा बढी अवधिमा साउदी अरबमा भएको यो सबैभन्दा घातक आक्रमण भनिएको छ।
आक्रमणको पूर्वचेतावनी नदिइएको र घाइतेलाई एम्बुलेन्स तथा हेलिकप्टरमार्फत अस्पताल पुर्याइएको अधिकारीहरूले बताएका छन्।
घाइतेहरू केहीको अवस्था गम्भीर छ।
आक्रमणपछि रियाद विमानस्थल बन्द गरिएको थियो भने त्यहाँ अवतरण हुन लागेका जहाजहरूलाई अन्यत्र डाइभर्ट गरिएको थियो।
इरानमाथि अमेरिका र इजरायलले फेब्रुअरीमा सुरु गरेको युद्धको प्रभाव क्षेत्रीय द्वन्द्वमा फैलिँदै जाँदा हुथीले साउदी अरबमाथि आक्रमण तीव्र पारेका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीविरुद्ध साउदी अरबले गरिरहेको आक्रमणमा अमेरिका पनि सहभागी हुन सक्ने बताएका छन्।
‘हामी सहभागी हुन सक्छौँ। यसबारे विचार गर्नेछौँ। पछिल्लो आक्रमणबारे भर्खरै थाहा पाएका छौँ। त्यसैले निर्णय गर्नेछौँ। हामी छिटो काम गर्छौं,’ ट्रम्पले पत्रकारहरूसँग भने।
यसै साता विमानस्थलमा भएका दुई अघिल्ला आक्रमणमा चार जनाको मृत्यु भएको थियो।
ती आक्रमणमा धावनमार्गमा पार्क गरिएको साउदी व्यावसायिक विमानमा पनि ठूलो क्षति पुगेको थियो।
हुथीले शनिबारको आक्रमणको जिम्मेवारी लिइसकेका छैनन्। तर साउदी नेतृत्वको सैन्य गठबन्धनले यसको जवाफ दिने चेतावनी दिएको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विमानस्थलमाथिको आक्रमणको निन्दा गर्दै यसले निर्दोष सर्वसाधारणको जीवनप्रति पूर्ण बेवास्ता देखाएको बताएका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि आक्रमणको निन्दा गरेका छन्।
उनले सर्वसाधारण र नागरिक पूर्वाधारमाथिका आक्रमण अन्तर्राष्ट्रिय कानुनविपरीत हुने भन्दै तत्काल रोक्न आग्रह गरेका छन्।
साउदी अरब र यमनको सरकार हुथी नियन्त्रणमा रहेका क्षेत्रलाई लक्षित गरी सयौँ हवाई आक्रमण गरेको बताउँछन्।
हुथीले भने ती आक्रमणमा महिला र बालबालिकासहित सर्वसाधारण मारिएको आरोप लगाउँदै आएका छन्। यी दाबीलाई रोयटर्सले स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।
साउदी अरब सन् २०१५ मा अरब राष्ट्रहरूको सैन्य गठबन्धनको नेतृत्व गर्दै यमनको युद्धमा सहभागी भएको थियो।
हुथीलाई राजधानी सानाबाट हटाएर यमन सरकारको नियन्त्रण पुनःस्थापित गर्ने उद्देश्यले सुरु भएको युद्ध लामो समयसम्म गतिरोधमा फसेको थियो। लडाइँ र भोकमरीका कारण यमनमा लाखौँ मानिसको मृत्यु भएको छ।
सन् २०२२ मा साउदी अरब र हुथीबीच भएको युद्धविराम यसै वर्ष गर्मीयाममा भंग भएको थियो।
त्यसपछि हुथीले तीव्र सैन्य अभियान चलाउँदै साउदी समर्थित सरकारी सेनाबाट रेड सीको महत्वपूर्ण समुद्री मार्ग बाब अल-मन्देब आसपासको क्षेत्र आफ्नो नियन्त्रणमा लिएका थिए।
त्यसको जबाफमा साउदी समर्थित यमनी सरकारले यसै साता उक्त क्षेत्र पुनः कब्जा गर्ने उद्देश्यले सैन्य अभियान सुरु गरेको छ।
तर सरकारी सेनाले सीमित प्रगति मात्रै गरेको भनेर रोयटर्सले लेखेको छ। यसैबीच हुथीले यमनको तेस्रो ठूलो सहर ताइजलाई घेराबन्दीमा राखेका छन्।
शनिबारको आक्रमणका प्रत्यक्षदर्शीले विमानस्थलभित्र विस्फोट भएको र धेरै मानिस घाइते अवस्थामा भुइँमा लडिरहेको देखेको बताएका छन्।
एक घाइते यात्रुका अनुसार विमानस्थलबाहिर आकाशमा कुनै वस्तु उडेको देखेपछि प्रस्थान द्वारनजिकैको छतको केही भाग भत्किएको थियो। रोयटर्सले पुष्टि गरेको भिडियोमा विमानस्थलमा एम्बुलेन्सहरू देखिएका छन्।
हुथीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई चेतावनी दिँदै आएका छन्। उनीहरूले मक्का र मदिनामाथिको हवाई क्षेत्रबाहेक साउदी हवाई क्षेत्रलाई आफ्नो सैन्य कारबाहीको क्षेत्र घोषणा गरेका छन्।
रियादस्थित अमेरिकी दूतावासले अमेरिकी नागरिकलाई विमानस्थल र त्यस आसपासका क्षेत्रबाट टाढा रहन कडा आग्रह गरेको छ। हुथीका यसअघिका आक्रमणपछि केही अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले रियादका उडान स्थगित वा रद्द गरेका थिए।
आगामी दिनमा रियादमा ठूला ऊर्जा तथा लगानीसम्बन्धी सम्मेलन आयोजना हुने तयारी भइरहेका बेला आक्रमण भएको हो।
शनिबारको आक्रमणअघि सम्मेलनका आयोजकहरूले निर्धारित कार्यक्रमअनुसार नै सम्मेलन सञ्चालन हुने बताएका थिए।