चट्याङ लागेर एक हल गोरू गुमाएका गोरखाको सिरानचोक गाउँपालिका–४ छोप्राकका टीका नेपालीको घरमा फेरि खुसी फर्किएको छ।
खेतीकिसानी गर्दै परिवार पालेका किसानलाई चट्याङले एक हल गोरू मारिदिएपछि चिन्ता परेको थियो।
गाउँलेहरू र गाउँपालिकाले सहयोग गरेपछि किसान टीका नेपालीको घरमा फेरि खुसी फर्किएको छ, गाउँलेहरूले उनीहरूका गोठमा नयाँ र बलिया एक हल गोरू बाँधिदिएका छन्।
गत बुधबार परेको चट्याङले नेपालीका एक हल गोरू मरेका थिए। खेतीपाती गर्न गोरू नै नभएपछि उनलाई समस्या परेको थियो। उनको समस्यालाई बुझेर सिरानचोक गाउँपालिका र स्थानीय समाजसेवी डा. विष्णु गोतामेको पहलमा सहयोग संकलन सुरू गरिएको थियो।
सहयोग संकलनबाट ७७ हजार ७ रुपैयाँ जुटेको थियो। उक्त रकमबाट नयाँ गोरू किनेर किसानलाई उपलब्ध गराइएको गोतामेले जानकारी दिए।
सिरानचोक गाउँपालिका–४ का वडाध्यक्ष भरत हमालको उपस्थितिमा गोरू हस्तान्तरण गरिसकिएको छ। वडाध्यक्ष हमालले किसानको घरमा फेरि गोरू ल्याउन सफल भएकोमा सहयोगी सबैलाई धन्यवाद दिएका छन्।
वडासदस्य परशुराम पोखरेलले पनि किसानलाई परेको समस्यामा सहयोग गरेको भन्दै सहयोगीहरू र गाउँपालिकालाई धन्यवाद दिए।
समाजसेवी गोतामेले आर्थिक सहयोग गर्ने, गोरू खरिद गर्न सघाउने तथा आवश्यक मुचुल्का तयार गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।
उनले भविष्यमा यस्ता समस्याबाट किसानलाई जोगाउन गाउँपालिकाले पशुपालन गर्ने किसानका गोरू तथा अन्य पशुको बिमा गराउने व्यवस्था गर्नुपर्नेमा जोड दिए।
गोरू खरिदका लागि सिरानचोक गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट २५ हजार रुपैयाँ सहयोग गरेको थियो। अन्य सहयोगीहरूको साथ पाएपछि टीका नेपालीले नयाँ एक हल गोरू पाएका हुन्।
चट्याङले गोठमा बाँधिराखेका गोरू गुमेपछि खेतीपाती कसरी गर्ने भन्ने चिन्तामा परेका नेपालीका लागि यो सहयोग ठूलो राहत बनेको छ। दुःखमा परेका बेला गाउँपालिका, समाजसेवी र स्थानीयवासीले साथ दिएपछि उनको घरमा फेरि आशा पलाएको छ।